बसाइँसराइ गर्ने बढे

| 2023 Feb 11 | 08:25 am 2225

स्याङ्जा, माघ २८ः स्याङ्जाको वालिङ नगरपालिकाबाट बसाइँ सरेर अन्यत्र जानेको संख्या बढेका छन्। गत वैशाखदेखि माघको तेस्रो सातासम्म वालिङबाट सात सय ७२ घरधुरी बसाइँ सरेर गएका हुन्। उक्त घरधुरीका दुई हजार आठ सय ९८ जना बसाइँ सरेका नगरपालिकाको पञ्जीकरण शाखाका अपरेटर पदम पराजुलीले बताए।

विसं २०७८ मा वालिङबाट दुई सय ४६ घरधुरीका नौ सय ४४ जना बसाइँ सरेर अन्यत्र गएकामा यस वर्षको हालसम्म दुई हजार आठ सय ९८ जना गइसकेका छन्। बसाइँ सरेर जानेभन्दा आउने थोरै छन्।

बसाइँ सरेर आउनेभन्दा जानेको संख्या बर्सेनि बढ्दो क्रममा रहेको छ। गत वर्ष एक सय १६ घरधुरीका चार सय ३७ जना र २०७९ को हालसम्म दुई सय ९४ घरधुरीका एक हजार एक सय १६ जना बसाइँ सरी आएका तथ्यांक रहेको उनले बताए।

चौध वटा वडा रहेको नगरपालिकाका केही वडामा बजार विस्तार हुने क्रम बढ्दो छ। केही वडा ग्रामीण र विकट छन्। ग्रामीण भेगका वडाबाट बजारतिर बसाइँ सर्ने क्रम बढ्दै गएको छ। बजारबाट अझै ठूला शहरमा बसाइँसराइ गर्नेको संख्या पनि उत्तिकै छ।

यस वर्ष ग्रामीण वडाका रूपमा रहेको वालिङ १२ बाट एक सय ४३ घरधुरीका पाँच सय ७९, वडा नं १४ बाट एक सय ३६ घरधुरीका चार सय ९९ जना बसाइँ सरेर गए। यस वर्ष सबैभन्दा थोरै वडा नं ३ बाट २८ घरधुरीका ८८ जना बसाइँ सरे। विसं २०७८ मा वडा नं. १४ का ३८ र १२ का ३६ घरधुरी बसाइँ सरेर गए। १२ बाट एक सय ५३ जना र १४ बाट एक सय ४९ जना बसाइँ सरेका उनले बताए।

स्थानीय स्तरमा रोजगारी, उच्च शिक्षा, स्वास्थ्य तथा लगानी जस्ता विषयलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई बताउँछन्।

ग्रामीण भेगबाट स्वास्थ्य, शिक्षा, रोजगारी, व्यापार व्यवसायका लागि बजार आउने क्रम बढ्दो रहेकाले स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गर्ने, प्राविधिक शिक्षालय सञ्चालन गर्ने, सुविधासम्पन्न मेडिकल कलेज, यही लगानी गर्ने वातावरण कसरी निर्माण गर्न सकिन्छ त्यतापट्टि ध्यान दिनुपर्ने उनको भनाइ छ।

‘यहाँको विकासका लागि पनि जनसंख्या आवश्यक पर्छ’, उनले भने, ‘स्वास्थ्य, शिक्षा, रोजगारी, व्यापार व्यवसाय, लगानी गर्ने वातावरण बनाई छिमेकी पालिकालाई पनि आकर्षित गर्दै अगाडि बढ्नु आवश्यक छ।’

वालिङबाट विभिन्न कारणले मानिस अन्यत्र बसाइँ सरेर जानुलाई आफूले गम्भीर ढंगले लिएको नगर प्रमुख कृष्ण खाँणले बताए।

‘वालिङमा अन्यत्रबाट बसाइँ सरेर आउनेभन्दा जानेको संख्या धेरै हुनु पक्कै पनि हाम्रा लागि राम्रो होइन’, उनल भने,‘बसाइँसराइका कारण केके हुन् पहिचान गरी कमीकमजोरी सुधार्दै अगाडि बढ्छौं।’

पछिल्लो समय आर्थिक सम्पन्नताका कारण पनि केही मानिस ठूला शहरमा शिक्षादीक्षा, स्वास्थ्य उपचार, रोजगारी, व्यापार व्यवसायका लागि जाने चलन बढेको उनी बताउँछन्।

बसिरहेको ठाउँ आफू अनुकूल नहुनु, परिस्थिति फेरिनु, सोचेजस्तो नहुनु, आफन्त इष्टमित्र जता धेरै छन् उतै  बसाइँ जानु, स्वास्थ्य, शिक्षा, रोजगारी, व्यापारव्यवसाय जस्ता सामाजिक तथा व्यक्तिगत कारणले मानिस पहुँच पुग्ने ठाउँमा बसाइँ सरेर जाने गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.