चोभार बन्दरगाहमा पार्किङ सेवा सञ्चालन

| 2023 Feb 11 | 07:45 am 1109

काठमाडौँ, माघ २८ः काठमाडौँको चोभारमा रहेको सुक्खा बन्दरगाह (ड्राइपोर्ट) लजिस्टिक हबका रूपमा सञ्चालनमा आएको छ । व्यापार सहजीकरण गर्ने उद्देश्यसहित विश्व बैङ्कको सहयोगमा निर्माण भएको यो बन्दरगाह प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेपछि यहाँ निर्माण भएको पूर्वाधार प्रयोगमा ल्याउन पार्किङ स्थल र गोदाम सञ्चालनमा ल्याइएको हो ।

गत वर्ष चैत २२ गतेदेखि सञ्चालनमा आए पनि प्रभावकारी रूपमा सञ्चालनमा नआउँदा शुक्रबारदेखि पार्किङ स्थल र गोदाम सञ्चालनमा ल्याएको हो ।

नेपाल इन्टरमोडल यातायात विकास समितिको सञ्चालक समितिको अध्यक्षसमेत रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य) मधुकुमार मरासिनीको अध्यक्षतामा बसेको समिति सञ्चालक समितिको बैठकले आन्तरिक टर्मिनल सञ्चालनका लागि दररेट स्वीकृत गरी सो टर्मिनल सञ्चालन आएको हो  ।

यो सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनलमा १५० वटा सवारीसाधन पर्किङ क्षमता, एक हजार २९६ वर्गमिटर क्षमताको एउटा गोदामघर, ८० मेट्रिक टन क्षमताको सवारी नापतौल, लोड/अनलोड सेड, चालक तथा कामदारका लागि शौचालय आदिको व्यवस्था छ ।

आयात–निर्यातकर्तालाई सडक किनारामा सवारीसाधन रोकी मालसामान पल्टी गर्नुपर्ने, चर्को मूल्यमा गोदाम शुल्क तिर्नुपर्ने अवस्थाको अन्त्य भई सहज रूपमा पार्किङ, लोड/अनलोड, गोदामघर आदिको सुविधा उपलब्ध हुने भएको हुँदा मालसामान आयात निर्यातकर्तालाई बन्दरगाह प्रयोग गरी लाभ लिन सक्ने समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुक्खा बन्दरगाहको ८५ रोपनी जग्गालाई लजिस्टक हबका रूपमा विकास गरी सञ्चालन ल्याएको जानकारी दिए । बन्दरगाहमा भएको पूर्वाधारलाई अधिकतम प्रयोग गर्न न्यूनतम शुल्क राखेर पार्किङ, गोदाम प्याकेजिङ स्थल सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।

४० फिट बराबरको क्षमता भएको कन्टेनरको सामान लोड/अनलोड गरेको वार्षिक छ हजार रुपियाँ र २० फिट बराबरको क्षमता भएको कन्टेनरको चार हजार रुपियाँ शुल्क निर्धारण गरिएको समितिले जनाएको छ । एक दिन मालवाहक सवारीसाधन पार्किङ गरेको एक सय रुपियाँ पार्किङ शुल्क निर्धारण गरिएको छ ।

गोदामका लागि प्रतिवर्गफिट/प्रतिमहिना ४५ रुपियाँ शुल्क निर्धारण गरिएको छ । सामान प्याकेजिङ गर्ने स्थलसमेत निर्धारण गरिएको छ ।

व्यापार सहजीकरण गर्ने उद्देश्यका साथ बन्दरगाह निर्माण गरी सञ्चालनमा आएको १० महिनासम्म पनि प्रभावकारी रूपमा सञ्चालन नहुँदा पूर्वाधारको अधिकतम प्रयोग गर्न बन्दरगाहलाई लजिस्टिक हबका रूपमा विकास गरिएको हो ।

काठमाडौँमा व्यापार सम्बद्ध भौतिक पूर्वाधारको अभावमा लजिस्टिक व्यवस्थापनमा समस्या भएकाले व्यापार सहजीकरणका लागि एकद्वार प्रणालीबाट आयात–निर्यातकर्तालाई सेवा प्रदान गर्ने एवं काठमाडौँ प्रवेश गर्ने ढुवानी साधनलाई व्यवस्थित गर्ने उद्देश्यले सेवा सञ्चालन गरिएको उनले जानकारी दिए ।

चोभार सुक्खा बन्दरगाह परिसर (आयात–निर्यात क्षेत्र) भारतलगायत अन्य मुलुकबाट आयात/निर्यात हुने सामान लिएर आउने/जाने मालवाहक सवारीसाधनका लागि र आन्तरिक टर्मिनल, मुलुकभरबाट काठमाडौँ आउने मालवाहक सवारीसाधनको लोडिङ/अनलोडिङ, पार्किङ, गोदामलगायतका सुविधाका लागि गरी दुई भागमा विभाजन गरेर संरचना निर्माण भएको समितिले जनाएको छ ।

नब्बे कन्टेनर सामान आयात 

बन्दरगाह सञ्चालनमा आएको १० महिनाको अवधिमा बाहिरी मुलुकबाट ९० कन्टेनर सामान आयात भएका छन् । नेपालबाट चार कन्टेनर सामान निर्यात भएका छन् । विश्व बैङ्कको एक अर्ब ५४ करोड रुपियाँ सहयोगमा २६० रोपनी क्षेत्रफलमा बन्दरगाह निर्माण गरिएको थियो । गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.