स्रोत नखुलेको ९ लाख २० हजार रूपैयाँसहित एक पक्राउ

रिपोर्ट नेपाल | 2023 Feb 09 | 01:07 pm 1125

माेरङ, माघ २६: स्रोत नखुलेको ९ लाख २० हजार रूपैयाँसहित विराटनगरबाट बुधबार राति एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१९ का ४२ वर्षीय सञ्जीवकुमार साह रहेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीका अनुसार भारतीय मोटरसाइकलमा सवार रहेका साहलाई विराटनगर–१० बाट राति ८:३० बजेतिर पक्राउ गरिएको हो।

कार्कीले बीआर ३८ एन ४९३० नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बरामद भएको बताए। उक्त रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने अनुमान प्रहरीको छ।

प्रहरीका अनुसार पक्राउ परेका साहले साथबाट बरामद भएको रकमको स्रोत खुलाउन सकेनन्। बरामद गरेको रकम र नियन्त्रणमा लिएको मोटरसाइकलसहित साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी प्रहरीले गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.