प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिंदै

| 2023 Feb 08 | 08:47 am 1973

बागलुङ, माघ २४ः बागलुङको काठेखोलामा प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिंदै छ। विदेशमा रहेका काठेखोला गाउँपालिका-५ र ६ बिहुँका बासिन्दाले पदमार्ग निर्माणका लागि आर्थिक सहयोग गरेका हुन्।

वैदेशिक रोजगारीमा रहेका उनीहरूले पदमार्गका साथै सामुदायिक भवन, विद्यालय तथा पर्यटन प्रवर्द्धनका लागि विभिन्न संरचना निर्माण गर्न आर्थिक सहयोग गर्दै आएका छन्। अहिले उनीहरूकै सहयोगमा बागलुङको प्रसिद्ध धार्मिकस्थल त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पर्यटकीय पदमार्ग निर्माण भइरहेको छ।

पदमार्ग निर्माणमा हालसम्म ६० लाख रुपैयाँ खर्च भएको छ। प्रवासीको सहयोगमा एक किलोमिटर पदमार्ग निर्माण भएको निर्माण समितिका अध्यक्ष खगराज कँडेलले बताए। ‘मन्दिरसम्म पुग्न सहज होस भनेर पदमार्ग निर्माण गरिएको हो’, उनले भने।

काठेखोला-६ शान्तिचोकदेखि हटिया गाउँ हुँदै मन्दिरसम्म पदमार्ग निर्माण भइरहेको छ। निर्माणका लागि स्थानीयले जनश्रमदान गर्दै छन्।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको छेउमै रहेको उक्त मन्दिरमा आन्तरिक तथा भारतीय पर्यटकसमेत आउने गरेका छन्। पदमार्गबाट पर्यटकलाई मन्दिर पुग्न सहज हुने स्थानीय शिव कँडेलले बताए।

पदमार्गमा स्थानीय स्लेट (ढुंगा) बिच्छाइएको छ। यहाँबाट धौलागिरि,माछापुच्छ्रे, अन्नपूर्ण लगायत हिमाल देख्न सकिन्छ। बागलुङ बजारदेखि करिब एक घण्टामा यहाँ पुग्न सकिन्छ। मन्दिर नजिकै गुुरुकुल सञ्चालनको योजना रहेको स्थानीय नरहरी सापकोटाले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.