काठमाडौं, साउन २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले माइतीघर मण्डलामा सभा जुलुस गर्न रोक लगाइको विषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रताविरोधी सिद्ध गर्न खोजेको गुनासो गरेका छन् । नेपाल मिडिया सोसाइटीको नव–निर्वाचित कार्यसमितिसँग आइतबार आज प्रधानमनत्री निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले मिडियाको भूमिकाप्रति असन्तुष्टि जनाएका हुन् ।
प्रधानमन्त्री ओलीले मिडिया सोसाइटीका पदाधिकारीहरुलाई प्रश्न गरे ‘माइतीघर मण्डला के आमसभा, जुलुस गर्न उपयुक्त ठाउँ हो त?’ ‘अनि यसलाई देखाएर सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोज्ने ?’ ।
नेकपा लोकतन्त्रको जन्मदाता भएको बताउँदै उनले यही पार्टीको सरकार भएका बेला लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन् हुने कुराको कल्पनासम्म गर्न नमिल्ने बताएका थिए।
प्रधानमन्त्री ओलीले सरकारलाई सजग गराउन र जनतालाई सचेत गराउन मिडियाको ठुलो भूमिका हुने पनि बताएका थिए। केही सञ्चार माध्यमले आफ्नो दायित्व भुलेर जथाभावी गरिरहेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टी व्यक्त गरेका थिए। प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अहिले लेखिएका कुरा २० वर्षपछि हेर्दा पनि सत्य र सान्दर्भिक हुनुपर्छ,’ उनले भने।