मेयरले रोके गुणस्तरहीन पुल निर्माण

| 2023 Feb 07 | 08:11 am 1445

वीरगन्ज, माघ २४: गुणस्तरहीन सामग्री प्रयोग गरी सिर्सिया खल्वाटोलामा पुल निर्माण गरिरहेको भेटिएपछि वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले निर्माण रोक्का गर्न लगाएका छन्।

वीरगन्ज महानगरपालिकाको वडा नम्बर २५ सिर्सिया खल्वाटोलामा निर्माणाधीन पुलमा गुणस्तरहीन सामग्री प्रयोग गरेर ढलान सुरु गर्न लागिएको बेला सोमबार मेयर सिंह अनुगमनमा पुगेका थिए। त्यस क्रममा उनले ठेकेदार कम्पनीले बालुवा प्रयोग गर्नुपर्नेमा पांगो माटो राखेर ढलान गर्न लागेको भेटेपछि काम रोक्न निर्देशन दिएको उनका स्वकीय सचिव सत्यराज घिमिरेले बताए।

घिमिरेका अनुसार सघन सहरी विकास आयोजनाले २०७४ सालमै पुल निर्माणका लागि ठेक्का लगाएको थियो। ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले निर्माण कार्य अलपत्र पारेर छाडेको थियो। तर, महानगरको मेयरमा निर्वाचित भएर आएसँगै मेयर सिंहको प्रयासमा ठेकेदार कम्पनीले पुल निर्माणको काम अघि बढाएको थियो। तर, अहिले पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको भेटेपछि स्टिमेटअनुसारको सामग्री प्रयोग गरेर मात्रै काम अघि बढाउन निर्देशन दिएको घिमिरेले बताए।

सघन सहरी विकास आयोजना कार्यालय वीरगन्जका प्रमुख झपटबहादुर थापाले पप्पुले पुल निर्माणमा कमसल सामग्री प्रयोग गरेको जानकारी आएपछि काम रोकेको बताए। ‘मेयर सिंहले जानकारी गराएपछि कार्यालयबाट हाम्रा इन्जिनियरहरू पनि साइटमा पुगे’, उनले भने, ‘त्यहाँ गुणस्तरहीन सामग्री प्रयोग गरेको भेटेपछि हामीले ठेकेदार कम्पनीलाई काम रोक्न लगाएका छौँ।’

गुणस्तरहीन सामग्री प्रयोग गरेर निर्माण गरेका संरचना हटाउन र पुनः गुणस्तरीय सामग्री राखेर निर्माण गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको पनि उनले बताए। सघन सहरीले महानगरका विभिन्न १७ सडकको ठेक्का लगाउँदा उक्त पुल पनि एकै पटक सोही ठेक्कामा पप्पुले सकार गरेको उनले बताए । अन्नपूर्ण पाेस्टबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.