रामेछाप, माघ २२ः पछिल्लो समयमा आधुनिकतासँगै भित्रिएको प्रविधिका कारण आरन पेसा सङ्कटमा पर्दै गएको छ ।
अहिले आरनमा बनाउनुपर्ने सबै भाँडाकुँडा बजारमा सस्तो मूल्यमा पाइने गरेका छन् । जसका कारण रामेछापका धेरैले आरन पेसा नै छाडिसकेका छन् । तर, जिल्लाको मन्थली नगरपालिका–९, पुरानागाउँ बाहुनचुराका ५९ वर्षीय देवबहादुर विकको भने आरन पेसाबाटै जीवन फेरिएको छ । पुर्ख्याैली पेसा आरनलाई व्यवस्थित र व्यावसायिक बनाएकै कारण राम्रो आम्दानी हुन थालेपछि उनसँगै परिवारको जीवन फेरिएको हो ।
बाउबाजेले सामान्य ज्यालाबापतको अन्नपातमा आरन पेसा चलाउँदै आएका थिए । तर, देवबहादुरले समयको मागअनुसार पुर्ख्याैली पेसा आरनलाई प्रविधिसँग जोडेर व्यावसायिक बनाएपछि वार्षिक छ लाख रुपियाँ आम्दानी गरिरहेका छन् । अहिले सामान्य रोजगारीका लागि पनि गाउँका युवाशक्ति खाडी मुलुक जान बाध्य छन् । तर, देवबहादुरले पुर्ख्याैली पेसा आरनबाटै मासिक ५० हजार रुपियाँ बढी आम्दानी गरिरहेका छन् । उनले भने, यो आम्दानीबाट उनलाई परिवार चलाउन कुनै समस्या छैन । आफूले गर्दै आएको पेसा छोड्नुभन्दा समयअनुसार त्यसलाई व्यवस्थित र व्यावसायिक बनाउनुपर्ने रहेछ । आरन पेसा व्यावसायिक बनाएपछि वर्षमा छ लाख रुपियाँ कमाइ भइरहेको छ ।
अहिले उमेरले ५९ वर्ष पुगिसक्नुभएका देवबहादुर ३७ वर्षदेखि निरन्तर आरन पेसामा छन् । उनले सुरुसुरुमा पुर्खाले जस्तै सामान्य कुटो, कोदालो, कोदाली, फाली हँसिया बनाउने र अर्जाप्ने मात्रै काम गरे । तर, यसबाट उनलाई परिवार चलाउन मुस्किल भयो । पेसा परिवर्तन गरौँ अन्य केही गर्ने सीप छैन । यही पेसा गरौँ आम्दानी नहुँदा परिवार चलाउनै मुस्किल हुँदै गयो । त्यस समय देवबहादुरलाई पेशस र परिवार चलाउन निकै समस्या भएको थियो । समस्यासँग जुध्दै उनले आवश्यक सीप सिकेर आरन पेसालाई थप व्यवस्थित बनाएर व्यावसायिक बनाउने योजना बनाए ।
सोही योजनाअनुसार उनले आफ्नो घरको आरनबाट कर्नाल, खड्कुँलो, गाग्री, खुकुरी, माना, पाथीलगायतका साधनहरू समेत बनाउन थाले । त्यसपछि आरन पेसाबटै उनको आम्दानी बढ्न थाल्यो ।
अहिले आफूले बनाएको कर्नाल मात्रै वर्षमा ६० वटा बढी बिक्री गरिरहेका छन् । उनले भने, “कर्नाल, खड्कुलो, खुकुरी, गाग्रीजस्ता सामानहरू बनाउन थालेपछि आम्दानी राम्रो हुन थाल्यो, परिवार चलाउन पनि सहज भयो, अहिले वर्षमा ६० वटासम्म कर्नाल बिक्री हुन्छ ।”
पित्तलको कर्नाल १० देखि १२ हजार र तामाको कर्नाल १२ देखि १६ हजार रुपियाँसम्ममा बिक्री भइरहेको उनले बताए । आरनबाट राम्रो आम्दानी हुन थालेपछि परिवार चलाउन सजिलो भएको देवबहादुरकी श्रीमती नन्दमाया विकले भने ।
उनले भने, “आरन चलाउने पेसा पहिलेभन्दा परिवर्तन भएको छ, अहिले कर्नाल, खड्कुलो, खुकुरी, गाग्रीजस्ता सामानहरूको बढी माग आउँछ, मागअनुसार बनाउन सके झनै राम्रो हुन्थ्यो ।” मन्थली नगरपालिका–९ को निर्वाचित वडा सदस्यसमेत रहनुभएकी नन्दमायाले भने, कमाइ हुन छाडेपछि धेरैले आरन पेसा छाडिसके । तर, यसलाई व्यवस्थापन गरेर व्यावसायिक बनाउन सके घरमै राम्रो आम्दानी गर्न सकिन्छ । गाेरखापत्र अनलाइनबाट