डाक्टर पाच्यालाई उच्च सम्मानका साथ विदाई

यस्ता पो चिकित्सक

रिपोर्ट नेपाल | 2023 Feb 03 | 02:31 pm 14525

  • महेन्द्र पाण्डेय

हाम्रो समाजमा धेरै किसिमका मान्छेको जन्म भएको छ । पृथ्वीमा जन्म भएका सबै मानिसको आ–आफ्नै विशेषता र विद्धता रहेको हुन्छ । त्यो मध्ये धेरै मान्छेहरु आफ्नो क्षमता, विद्धतामा घमण्ड गर्दै आफूलाई सबै भन्दा सर्वोपरी ठान्छन् भने केहि मान्छे आफ्नो क्षमता समाज रुपान्तरण गर्न र सेवाभावमा समर्पण रहन्छन् । आफ्नो क्षमतालाई कर्तव्य र सेवामा समर्पण गर्ने मध्येका एक असल चिकित्सक उत्तम पाच्या हुन् ।

No description available.

लामो समय गुल्मी जिल्ला अस्पतालमा सेवारत भएर केही दिन अघि वीर अस्पताल सरुवा भएका डाक्टर पाच्याले जिल्लामा बस्दा कतिको मन मुटुमा बसेका रहेछन भन्ने कुरा उनको विदाईले प्रमाणित गरिदिएको छ । गुल्मी जिल्ला अस्पताल स्थापना भएपछि दर्जनौंको संख्यामा चिकित्सक आउने जाने क्रम थियो नै इतिहासमा डाक्टर पाच्याले दिएको सेवा प्रति जनजनबाट स्याबासी पाउने चिकित्सक उनी पहिलो हुन् ।

डाक्टर पाच्या माटो प्रति माया भएका स्वाभिमानी हुन् । उनी लोभ लालचलाई भन्दा माटोलाई माया गर्ने व्यक्ति हुन भन्ने कुराको प्रमाण ६ वर्ष गुल्मी बस्दा मन, मस्तिक र सरलताले गरेको कर्मले गरेको कार्य हो । गुल्मीको माटोले थुप्रै थुप्रै प्रशासक र चिकित्सक जन्माएको छ । कति प्रशासकले के कति गरे त्यो आफ्नो ठाउँमा छ तर चिकित्सक मध्ये आफू जन्मेको माटोलाई डा. उत्तम पाच्याले जति कुनै पनि गुल्मेली चिकित्सकले माया गरेनन् । पाच्यालाई जन्म दिने ति महान आमा बुबालाई यो पंतिकार सलाम गर्छ । सलाम यस मानेमा गर्छु कि ति महान आमा बुबाले आफ्नो सन्तानलाई माटोका विषयमा जानकार गराए । सायद त्यही प्रेरणाले होला पाच्याले जन्मेको माटोमा आफ्नो प्राणको भन्दा विरामीको प्राण बारे चिन्ता लिने गर्थे । जिल्लामा थुप्रै कार्यालय प्रमुखको आवतजावत भइरहन्छ तर पाच्याको विदाईलाई हेर्दा उनी बिरामी र गुल्मेलीको नजरमा आशा लाग्दा सतिसाल थिए ।

त्यही कारणले हुन सक्छ उनको विदाइमा जिल्लाका प्राय सबै संघ संस्थाले मात्रै नभएर व्यक्ति व्यक्तिले सामाजिक संजालबाट उनको हार्दिक बिदाई गरेका थिए । डा. पाच्याले गुल्मीबाट वीर अस्पताल जाँदै गर्दा कोभिड १९ का समयमा आफ्नो ज्यानको प्रवाह नगरी डा. पाच्या सँग नजिक रहेर सेवा गरेका भुवन प्रसाद श्रेष्ठले आफ्नो फेसबुकको भित्तामा यस्तो लेखेका छन् । झण्डै ६ वर्ष गुल्मी अस्पतालमा मेडिकल सुपरिटेन्डन पदमा रहेर जिल्ला अस्पतालको आन्तरिक कार्य व्यवस्थापनलाई चुस्त दुरुस्त राख्दै भौतिक निर्माण कार्यमा समेत अहोरात्र खटेर आफ्नो नाम जस्तै उत्कृष्ठ स्वास्थ्य सेवा प्रदान गर्ने डाक्टर पाच्या प्रति हार्दिक आभार प्रकट गर्दछु । विश्वव्यापी फैलिएको कोरोनाकालको भयावह परिस्थिति र जिल्लाको तत्कालिन कमजोर स्वास्थ्य सेवा प्रवाहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै संयमतापूर्वक सयौं नागरिकको जीवन रक्षा र हजारौं गरिब दुःखी जनता प्रति पुर्याएको सेवा भाव स्तुत्य रहेको समाजसेवी एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उप सभापति भुवन प्रसाद श्रेष्ठले लेखेका छन् । डा. पाच्याले गरेको कर्मको सम्मान गर्दै राम्रो डाक्टर २०७५, सुप्रवल जनसेवाश्री पदक २०७६, प्रदेश सेवा समर्पण पदक २०७७ बाट समेत उनी सम्मानित भएका छन् ।

May be an image of 2 people and people standing

झण्डै ६ वर्ष जिल्ला अस्पतालमा मेडिकल सुपरिटेन्डेन पदमा रहेर डा. पाच्याले स्वास्थ्य क्षेत्रमा गुल्मी जिल्लाबासीलाई पुर्याएको योगदानको चर्चा जिल्लाभर भईरहेको छ । रेसुङ्गा नगरपालिका १४ पराल्मी जन्मघर भई तमघास स्थित अर्जुन बोडिङ हाइस्कुलबाट माध्यमिक शिक्षा उत्तिर्ण गरेका डा. पाच्या सानै देखि पढाइमा पनि हुने बिरुवाको चिल्लो पात भने जस्तै अब्बल थिए ।

आफ्नै जन्मभूमिको कर्तव्य पूरा गर्नुुपर्छ भन्ने उत्कृष्ठ चाहानाका साथ लोभलाग्दो निजी क्लीनिकको आर्थिक प्रलोभनमा नपरी सरकारी अस्पतालाई केन्द्र बनाई जिल्लाबासी नागरिकलाई पुर्याएको योगदान स्तुत्य छ । खस्कदो स्वास्थ्य सेवा रहेको जिल्ला अस्पताललाई अहोरात्र खटेर अहिलेको अवस्थासम्म ल्याउनु कम चुनौतिपूर्ण कार्य थिएन । गुल्मी जस्तो पहाडी जिल्लामा योग्य र गुणस्तरीय चिकित्सक आउन नमान्ने र कथचित आइहाले पनि विभिन्न बहाना बनाई केन्द्रमै बस्ने र सुविधा सम्पन्न ठाउँमा हिड्ने प्रचलनलाई त्याग्दै निजी क्लीनिकबाट होइन सरकारी अस्पतालमा डाक्टरबाटै सेवा लिनु पर्छ भन्ने मान्यताको विकास सर्वसाधारणमा गराएर डा. पाच्या बिदा भएका छन् ।

May be an image of 4 people, people standing and people sitting

बाहिरी क्लीनिकबाट सरकारी डाक्टरले सेवा प्रवाह गर्दा रोगी बिरामीलाई आर्थिक व्यायभार अत्यधिक बढ्न जाने र सरकारी अस्पताल प्रतिको विश्वास र आकर्षण घट्ने भएकोले उनी क्लीनिक मैत्री होइन अस्पताल मैत्री बने । त्यसैले सरकारी जिल्ला अस्पताललाई नै आफ्नो निरन्तर कार्यथलो बनाई सेवा प्रवाह गर्नुपर्ने डा. पाच्याको प्रमुख विशेषता रह्यो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना प्रकोपको महामारीमा संयमतापूर्वक बिरामीको सेवामा पुर्याएको योगदान सम्झन लायक छ । अत्यावश्यक स्वास्थ्य सामाग्री र गुणस्तरीय सुरक्षा कवचको अभावमै बिरामी जाँचमा निरन्तर खटिरहँदा २ पटक कोभिड संक्रमित हुनुपर्यो । यसबाटै पुष्टी हुन्छकी उनी आफ्ना बिरामी प्रति कति संवेदनशील थिए ।

कोभिड संक्रमणको उत्कर्षकालमा अक्सीजनको अभावमा कैयौं बिरामीले ज्यान गुमाउनु पर्यो । उनकै आब्हान र सक्रियतामा नेपाल पत्रकार महासंघको नेतृत्व र अन्य सामाजिक संघ संस्था र ब्यक्तिको सहयोगमा जिल्लामै अक्सीजन प्लान्टको स्थापना गरिएको छ । जुन पहल जिल्ला अस्पतालमा एउटा नविन उत्कृष्ठ कार्य हो । यो अक्सीजन प्लान्टले अब अस्पतालका आवश्यकता पूरा गरी व्यवसायीक उत्पादन समेत गर्नेछ ।

May be an image of 5 people and people standing

उनकै कार्यकालमा वर्षैदेखि थलापरेको जिल्ला अस्पतालको दैनिक सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्दै आन्तरिक व्यवस्थापन तथा बाह्य भौतिक निर्माणले पनि गति लिएको थियो । पछिल्लो स्थानीय निर्वाचन पश्चात् रेसुङ्गा नगरपालिकासँग समन्वय गरी विभिन्न रोगका विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाहको सुरुवात हुनुले जिल्ला अस्पतालको विश्वास र आकर्षणमा बृद्धी भएको छ भने गरिब दु्ःखी नागरिकले गुणस्तरीय सेवा पाउनुका साथै वर्षेनी हजारौंको संख्यामा सुविधा सम्पन्न अस्पताल खोज्दै ठूलो धनराशी खर्च गर्नुपर्ने बाध्यताबाट अब गुल्मी तथा छिमेकी जिल्लाबासीले मुक्ति पाउने आशा गरेका छन् । आर्थिक अभावमा सुविधा सम्पन्न अस्पताल चाहार्न नसक्ने गरिबका लागि उनी भगवान सावित भए । आफ्नो पेशा र कर्तव्यप्रतिको इमान्दारीले उनलाई सम्मानयोग्य बनायो ।

अहिले शिक्षा र स्वास्थ्यको क्षेत्रमा भइरहेको धपडीकरण सबै भन्दा ठूलो चिन्ताको विषय हो । सरकारी अस्पताललाई गुणस्तरीय बनाउन सकियो भने धेरै विपन्न नागरिकले घरमै सेवा प्राप्त गर्नेछन् । त्यसैले हालसम्म भएका उत्तम कामलाई निरन्तरता दिँदै सरकारी अस्पतालाई आगामी दिनमा थप सुविधाले सम्बृद्ध बनाउन सकियो भने स्थानीय ठाउँबाटै जिल्लाबासीले धेरै स्वास्थ्य लाभ लिनेछन् ।

जिल्लाकै दुर्गम, निम्नवर्गिय परिवारमा जन्मीएर आफ्नो गाउँ र ठाउँको कर्तव्य पूरा गर्नुपर्छ भन्ने महान सोचका साथ सेवाभावमा लागेका डा. उत्तम पाच्या देश बिदेशका सुविधा सम्पन्न ठाउँमा रमाएर जन्मभूमि बिर्सनेका लागि एक प्रेरणाका स्रोत हुन भन्दा अत्युबती हुनेछैन । जसरी गुल्मी बस्दा उत्तम कार्य गरेर जनताको नजरमा वाही वाही भएका पाच्या अबका दिनमा वीरत्व स्थापित गर्नेछन् भन्ने कुरामा यो पंतिकार पूर्ण विश्वस्त छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.