रित्तो गाउँमा धमाधम सडक स्तरोन्नति

| 2023 Jan 31 | 08:03 am 1461

गोरखा, माघ १७: बसाइसराइले हालसालै रित्तो बनेको सहिद लखन गाउँपालिका–६ फुन्डाँडामा धमाधम सडक स्तरोन्नति भइरहेको छ। गण्डकी प्रदेश सरकारको १० लाख रुपैयाँ लागतमा पूर्वाधार कार्यालय गोरखाले एक सातादेखि धमाधम सडक स्तरोन्नति गरिरहेको हो।

दार्चेको पौडेल चोकदेखि फुन्डाँडासम्मको पाँच सय मिटर सडक स्तरोन्नतिको काम भइरहेको स्थानीय विष्णु न्यौपानेले बताए। ‘नेताहरू भोट माग्न आउँदा यो रोड देखाएर बजेट माग गरेका थियौं। प्रदेशबाट १० लाख रुपैयाँ परेको रहेछ’, उनले भने, ‘अब अहिले सबै बसाइँ सरेर बस्ती रित्तो बन्यो। त्यही बजेटबाट एक हप्तादेखि काम धमाधम भइरहेको छ।’ यसअघि सो खण्डमा स्थानीयवासीले घरधुरीबाट पैसा उठाएर, भजन समूहबाट तथा वन समूहबाट केही पैसा जुटाएर ट्रयाक खन्ने काम भएको उनले बताए। सोही ठाउँमा प्रदेश सरकारको बजेटबाट अहिले सडक स्तरोन्नति भइरहेको हो।

गाउँमा विकासका पूर्वाधार बनिरहे पनि स्थानीयवासी ‘मति बिग्रिएर’ गाउँ रित्याएर बसाइँ सरेको भन्दै उनले आक्रोश पोखे।

१० लाख रुपैयाँले पाँच सय मिटर सडकको चौडा बढाउने, नाला खन्ने, ग्राभेल गर्ने, ग्याभिन भर्ने, मेसिनरी वाल लगाउने कार्यक्रम रहेको कृतिका निर्माण सेवाका कृष्णप्रसाद अम्गाईले बताए। ‘दार्चेको पौडेल चोकदेखि फुन्डाँडासम्मको पाँच सय मिटर खण्डमा १७ सय घनमिटर माटो कटिङ, १७० घनमिटर पहरा कटिङ, १३५ घनमिटर ग्याभिन भर्ने काम हुँदैछ’, अम्गाईले भने, ‘काम सुरु गरेको सात दिन भइसक्यो। अब दुईतीन दिनभित्र सबै काम सम्पन्न हुन्छ।’

बस्तीमा मान्छे छँदै मागेको बजेटबाट ठेक्का गरिएको र काम सुरु गरिएको पूर्वाधार कार्यालय गोरखाका सूचना अधिकारी अजय श्रेष्ठले बताए। ‘त्यहाँ बसोबास छँदै बजेट माग भएको होला। बजेट परेर ठेक्का प्रक्रियामा गइसकेपछि बस्ती रित्तिएकाले यस्तो भएको हुनसक्छ’, श्रेष्ठले भने। १२ घरधुरी रहेको फुन्डाँडाबाट सबै जना बसाइँ सरेपछि दुई हप्तादेखि गाउँ रित्तिएको छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.