झापा, माघ १५: दमक नगरपालिका-६ स्थित फर्निचर लाइनमा रहेको बालाजी फर्निसिङमा शनिबार साँझ आगलागी भएको छ।
विकास भट्टराईले सञ्चालन गरेको फर्निसिङमा शनिबार साँझ ७ बजे भएको आगलागीबाट फर्निसिङमा राखिएका अधिकांश सामान नष्ट हुन पुगेको थियो।
आगलागीको कारण खुल्न सकेको छैन। आगलागीबाट फर्निसिङका कुर्सी, टेबल, तन्नालगायतका घरायसी सामान नष्ट भएका छन्। स्थानीय भगवान् बस्नेतको घरको भुइँतलामा रहेको पसल बन्द गरेर पुगेलगत्तै आगजनी भएको खबर आएको पीडित भट्टराईले बताए।
आगजनीबाट लाखौँ मूल्यका सामान जलेर क्षति पुगेको दमक–६ का वडाध्यक्ष टेकबहादुर थापाले बताए। उनका अनुसार आगलागी दमक, उर्लाबारी, गौरादहको वारुणयन्त्र, प्रहरी तथा स्थानीयवासीको सहायताबाट नियन्त्रणमा आएको थियो।
क्षतिको विवरण संकलन कार्य भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए। यही माघ १ गते दमक–६ कै नमूना बजारका छवटा पसलमा आगजनी हुँदा दुई करोड बढी मूल्यका धनमालमा क्षति हुन पुगेको थियो। अन्नपूर्ण पाेस्टबाट