मिर्गौला कसरी बचाउने ?

| 2018 Aug 11 | 06:54 pm 2704

काठमाडौं, साउन २६: विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले विश्वमा १० प्रतिशत मानिसमा मिर्गौलाको समस्या हुने जनाएको छ। तीन करोड जनसङ्ख्या भएको नेपालमा १० प्रतिशत नागरिकलाई मिर्गौलासम्बन्धी समस्या हुने हो भने करिब ३० लाख नागरिक मिर्गौलासम्बन्धी रोगी हुनुपर्छ।

सरकारले मिर्गौला रोगीलाई अन्य रोगीलाई भन्दा बढी सहुलियतको व्यवस्था गरेको छ। तर रोगीको सङ्ख्यामा कुनै पनि परिवर्तन आएको छैन। वि.स २०४६ सालदेखि दुईवटा मेसिनबाट डाइलासिस सेवा सुरु गरेकोमा देशभर ४ सयभन्दा धेरै डाइलासिस मेसिन छन्। तर अहिलेको बिरामीको सङ्ख्याका तुलनामा यी उपचारका साधन ज्यादै थोरै हुन्।

राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक तथा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्लेका अनुसार ३० लाखलाई मिर्गौलाको समस्या रहेको अनुमान छ भने दुई करोड ७० लाख स्वस्थ्य छन्। अब यी ३० लाख मिर्गौला रोगी कहाँ छन् भन्ने कुरामा खोज्नुपर्ने उनले बताए।

३० वर्ष कटेका, उच्च रक्तचाप, मधुमेह, बढी तौल भएका र परिवारमा मिर्गौलाको समस्या भएका व्यक्तिहरूले वर्षमा एक पटक मिर्गौलाको जाँच गर्नुपर्ने काफ्लेको सुझाव छ। उनी भन्छन्, ‘मिर्गौला जाँचका लागि धेरै पैसा लाग्दैन। नियमित स्वस्थ्य परीक्षण गर्नुहोस। दिनमा १० हजार पाइला अर्थात ७ किलोमिटर हिँड्नु पर्छ। दास्रो कुरा प्रत्येक दिन २ देखि ३ लिटर पिसाब फेर्नुपर्यो, त्यति पानी खानुपर्यो।’

अर्को कुरा चुरोट, खैनी, जाँड, रक्सीजस्ता खाना खानु भएन । रिटाएर भएको व्यक्तिले रातो मासु जस्ता खाना नखाएकै राम्रो हुन्छ। रातो मासु भनेको चारखुट्टे जनावारको मासु जस्तै राँगा, भैँसी, खसी, बोका, च्याङ्ग्रा, बङ्गुर आदिको मासु मिर्गाैला रोगका लागि नराम्रो हो । लगातार रातोमासु खाने व्यक्तिको मिर्गौला कमजोर हुने कुराको बारेमा वैज्ञानिकले नै जानकारी गराउँदै आइरहेका छन्।

मिर्गौलामा समस्या भएका मान्छेले रातो मासु कम खाने गर्नुपर्‍यो। पार्टी, रेस्टुरेन्टमा बनाएको खाना स्वास्थ्यका लागि हानिकारक हुन्छ। त्यसैले बाहिरभन्दा घरमा बनाएको खाना खानु उत्तम हुन्छ। सन्तुलित खाना, पानी, व्यायम गरेर र रोग छ भने सुरुकै अवस्थामा उपचार गर्ने हो भने मिर्गौलालाई स्वस्थ्य राख्न सकिन्छ।

अर्को कुरा जथाभावी औषधि खानु हुँदैन। टाँउको, पेट, कम्मर दुखाइ कम गर्ने औषधि खानाले मिर्गाैलालाई असर गर्छ। त्यसैले दुखाइ कम गर्ने औषधि डाक्टरको सल्लाहबिना नखाँदा राम्रो हुन्छ। तर यो सबै गर्दा पनि तपार्इंको मिर्गौला स्वस्थ्य हुन्छ भन्ने ग्यारेन्टी चाहिँ हुँदैन। जुनसुकै बेला पनि समस्या आउँछ सक्छ। कम्तीमा वर्षको एक पटक अनिवार्य स्वास्थ्य परीक्षण गर्नु राम्रो हुन्छ। दैनिक ६ देखि ७ घण्टा नियमित एउटै सयमा सुत्दा राम्रो हुन्छ।

खालिपेटमा भन्दा पनि बेलुका खाना खाएपछि १५ मिनेट हिँडेको राम्रो। मिर्गौलामा समस्या भएको व्यक्तिलाई हृदयाघात हुने सम्भावना १० गुणा बढी हुन्छ। मिर्गौला बिग्रेर अन्तिम अवस्थामा पुगेको व्यक्तिको उपचार भनेको डाइलासिस र प्रत्यारोपणबाहेक अरू कुनै पनि विकल्प छैन। त्यसैले नियमित स्वस्थ्य परीक्षण आफ्नो स्वास्थ्यको ख्याल राख्नु सबैभन्दा राम्रो पक्ष हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.