पुसमा उठ्यो ७१ अर्ब आन्तरिक राजस्व

रिपोर्ट नेपाल | 2023 Jan 18 | 07:32 am 821

काठमाडौँ, माघ ४ः आन्तरिक राजस्व विभागले पुसमा ७१ अर्ब १३ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्वका स्रोतमार्फत कर परिचालनको जिम्मेवारी पाएको विभागले विभिन्न सात शीर्षकमा सो राजस्व सङ्कलन गरेको हो ।

विभागले सङ्कलन गरेको राजस्व लक्ष्यको तुलनामा भने अत्यन्त न्यून हो । पुसमा कुल एक खर्ब छ अर्ब ९८ करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य लिएकोमा त्यसको ६६.५ प्रतिशत मात्र राजस्व उठेको हो । यद्यपि विभागले भने विषम अवस्थाका बीच पनि ७१ अर्ब रुपियाँ राजस्व उठ्नु सुखद भएको जनाएको छ ।

विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेल अर्थतन्त्रका बाह्य सूचक नकारात्मक रहेको, आयात प्रतिबन्ध भएको र आर्थिक गतिविधि सुस्ताएको अवस्थामा पनि विभागले धेरै प्रयास गरेर राजस्व सङ्कलन गरेको बताउछन् । “कठिन अवस्थामा पनि विभागले अत्यन्त मेहनत गरेर अघिल्लो पुसभन्दा धेरै नै राजस्व उठेको छ,” उनले भने । अघिल्लो आवको पुसमा विभागले ७० अर्ब ८० करोड रुपियाँ राजस्व उठाएको थियो । यस हिसाबले चालू आवको पुसमा करिब एक अर्ब रुपियाँ बढी राजस्व सङ्कलन भएको देखिन्छ ।

समग्रमा हेर्दा लक्ष्यको तुलनामा पुसको राजस्व सङ्कलन कम देखिए पनि त्यसलाई परिस्थितिअनुसार हेर्नुपर्ने प्रवक्ता प्याकुरेलको भनाइ छ । “लक्ष्यअनुसारको राजस्व नउठे पनि मुलुकको विषम परिस्थितिअनुसार विश्लेषण गर्दा सङ्कलित राजस्व कम होइन,” उनले भने ।

मुलुकको सङ्घीय सञ्चित कोष नै यतिबेला घाटामा रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ । पुस मसान्तसम्म समग्रमा सरकारको आम्दानीको तुलनामा खर्च ८१ अर्ब रुपियाँले बढी छ । विभागले भने आन्तरिकतर्फ पुससम्म लक्ष्यको तुलनामा ७८.८२ प्रतिशत राजस्व सङ्कलन गरेको जनाएको छ । पुससम्म विभागले दुई खर्ब ८१ अर्ब ३५ करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा दुई खर्ब २१ अर्ब ७५ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । जुन् गत पुसको तुलनामा तीन अर्ब ६१ करोड रुपियाँले न्यून हो ।

शीर्षकगत हिसाबले पुससम्म विभागले ९७ अर्ब ५१ करोड रुपियाँ आयकर सङ्कलन गरेको छ । त्यस्तै ५१ अर्ब १३ करोड मूल्य अभिवृद्धि कर, ५० अर्ब ५५ करोड अन्तःशुल्क, एक अर्ब २७ करोड घर बहाल कर, १६ अर्ब ८० करोड ब्याज कर, तीन अर्ब २७ करोड स्वास्थ्य सेवा कर र ७३ करोड ६७ लाख रुपियाँ शिक्षा कर उठेको छ । गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.