मौरीबाट वार्षिक आठ लाख कमाइ

रिपोर्ट नेपाल | 2023 Jan 14 | 08:12 am 1189

म्याग्दी, पुस ३०ः पछिल्ला केही वर्षदेखि निकै चर्चित बनेको बेनी नगरपालिका–१, रत्नेचौरको तोरीको फाँटमा अहिले पनि तोरी फुलेको छ । यस वर्ष तोरीबारीमा फोटो खिच्ने र टिकटक बनाउनेको भीड भने छैन ।

यस पटक त्यहाँ बेनी नगरपालिका–४, सुर्केमेलाका दिलबहादुर खत्रीले २५ घार मौरी चराउँदै छन् । सुर्केमेलाका व्यावसायिक मौरीपालक कृषक ४२ वर्षीय खत्रीले मौरीको घार ल्याएर तोरीको फाँटमा राखेका छन् ।

खत्री २१ वर्षको उमेरमा संयुक्त अरब इमिरेट्सको दुबईमा दुई वर्ष र त्यसपछि मलेसिया गए । मलेसिया तीन वर्ष बसेर फर्केपछि सुर्केमेलामा सुन्तला खेती थालेका केसीले बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर व्यावसायिक कृषितर्फ लागेका हुन् । उनले हाल मौरीपालन तथा बिक्री गर्नुका साथै कागती एवं सुन्तला जातका फलफूल उत्पादन गर्ने गर्छन् ।

मौरीपालनबाट केसीले वार्षिक सरदर १० लाख रुपियाँको कारोबार गर्दै आएका छन् । उनले वार्षिक एक सयभन्दा बढी  मौरीसहितका घार बिक्री गर्दै आएका छन् । गत वर्ष मौरीसहितको घारबाट मात्रै आठ लाख रुपियाँ कमाएको उनले बताए। यस वर्ष चरन क्षेत्रमा राखेको ७९ घार मौरीले २५० केजी मह उत्पादन गर्ने अपेक्षा लिएको उनले बताए । रत्नेचौरमा २५ घार र बागलुङ नगरपालिकाको कुँडुलेमा ४५ घार मौरी चरनमा राखिएका छन् । प्रत्येक घारमा सरदर तीनदेखि चार केजीसम्म मह उत्पादन हुन्छ । ताजा मह प्रतिकेजी एक हजार रुपियाँदेखि एक हजार तीन सय रुपियाँमा बिक्री गर्ने गरेको उनले बताए ।

वार्षिक रूपमा दुई सय घार मौरी बेच्ने लक्ष्य राख्नुभएका काम गर्ने केसीले, गोला घार (मौरीसहितको घार), खाली घार, खाली घार भएका कृषकका लागि मौरी मात्रै पनि बिक्री गर्दै आएका छन् ।

कृषि ज्ञान केन्द्रले निर्धारण गरेको मूल्यअनुसार मौरीसहितको घारको १० हजार, मौरी मात्रै पाँच हजार, खाली घार मात्रै तीन हजार पाँच सय रुपियाँमा बिक्री हुन्छ । त्यस्तै खाली घार लिएर आएकालाई चार फ्रेम मौरी हाल्दिएको पाँच हजार पाँच सय रुपियाँ लिने गरेको उनले बताए।

कृषि ज्ञान केन्द्रले केही वर्षअघि सानो मोडेल फार्मअन्तर्गत अनुदान प्रदान गरेपछि भने उनलाई त्यसले ठूलो मात्रामा व्यावसायिक तवरले अगाडि बढ्न सजिलो भएको अनुभव छ । रत्नेचौरको फाँट पाँच सय मुरी धान फल्ने क्षेत्र हो र त्यसमध्ये चार सय मुरी धान फल्ने क्षेत्रमा तोरी लगाइएको छ भने एक सय मुरी धान फल्ने क्षेत्रमा गहुँ लगाइएको छ । गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.