माघ १ बाट बाराको जीतपुरमा दुधौरा रमाइलो मेला शुरु हुने

रिपोर्ट नेपाल | 2023 Jan 13 | 05:09 pm 1409

सिमरा, पुस २९ः माघ १ गते आइतबारबाट बाराको जीतपुरसिमरा उपमहानगरपालिका १४ दुधौरा पुलमा दुधौरा रमाइलो मेला शुरु हुने भएको छ । लिड इन्टरटेन्मेन्ट एण्ड एडभरटाइजिङको मूख्य आयोजना तथा यूवा समाज डुमरवानाको सह आयोजनामा हुन गइरहेको मेलामा स्थानीयको मनोरञ्जन तथा व्यवसाय प्रवद्र्धनलाई मूख्य प्राथमिकता दिईएको छ ।

स्थानीय उत्पादन तथा स्थानीय परिकारका विभिन्न ५० स्टल रहने मेलामा मनोरञ्जनका लागि विभिन्न खेल तथा बालबालिकाका लागि बाल उद्यान तथा सेल्फी जोन समेत राखिनेछ । साथै मेलालाई थप रमाइलो बनाउन प्रत्येक दिन फरक कलाकारको सांगीतिक कार्यक्रम समेत राखिने मेलाका व्यवस्थापक शिव घलानले जानकारी दिए ।

मेलामा सांगीतिक प्रस्तुतिका लागि पुराना देखि नयाँ पुस्ताका चर्चित कलाकारहरु बारा आउनेछन् । यसवर्ष पशुपति शर्मा, प्रमोद खरेल, प्रकाश सपुत, अस्मिता अधिकारी, रचना रिमाल, ज्योती मगर, मिस्टर डि लगायत ५० भन्दा बढि कलाकार बारा आउने मेला आयोजक लिड इन्टरटेन्मेन्टका अध्यक्ष विमल खड्गीले जानकारी दिए ।

जीतपुरसिमरा उपमहानगरपालिका तथा उपमहानगरकै १४ नम्बर वडा कार्यालयले मेलाका लागि आवश्यक व्यवस्थापकीय सहयोग गरेको आयोजकले जनाएको छ । मेलालाई व्यवस्थित बनाउन पार्किङ, सिसिटीभी क्यामेराबाट निगरानी, तालिम प्राप्त सुरक्षा गार्डहरुको व्यस्थापन गरिएको आयोजकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.