केबलकार उद्धार अभ्यास सम्पन्‍न

| 2023 Jan 10 | 01:49 pm 1821

काठमाडाैं, पुस २६ः केबलकारसँग सम्बन्धित संभावित दुर्घटनाहरुलाई दृष्टिगत गरि सोको पूर्व तयारी स्वरुप नेपाली सेनाले श्री चन्द्रागिरी हिल्स् लिमिटेडसँग सहकार्य गरी साेमबार श्री चन्द्रागिरी हिल्स् लिमिटेडको केबलकार थानकोटमा केबलकार उद्धार अभ्यास संचालन गरेको छ ।

विविध कारणले केबलकार रोकिन गई फसेका यात्रुहरुलाई High Line Rescue तरिका (डोरी) द्वारा सुरक्षित तवरले जमिनमा उतार्ने अभ्यासको दौरान नेपाली सेनाका उद्धारकर्ताहरु र श्री चन्द्रागिरी हिल्स् लिमिटेडको उद्धार टोलीले उक्त केबलकारसँग रहेका उद्धार सामग्रीहरु र नेपाली सेनासँग रहेका उद्धार सामग्रीहरुको प्रयोग गरी अभ्यास संचालन गरेको हो ।

उद्धारकर्ताहरुबाट घाईते तथा सद्दे मानिसलाई विभिन्‍न तरिकाले जमिनमा उतार्ने अभ्यासहरु गरिएको थियो ।

उक्त अभ्यासमा नेपाली सेनाको तर्फबाट श्री राष्ट्रिय विपद व्यवस्थापन शिक्षालय, श्री नं.१ विपद
व्यवस्थापन गण, तथा श्री युद्धभैरव गणबाट अधिकृत सहितको टोली सहभागी भएको थियो । उक्त अभ्यासमा विपद् व्यवस्थापन निर्देशक सहायक रथी पदम बहादुर बुढा (पि.एचडी) लगायतको उपस्थिति थियो ।

यस किसिमको अभ्यासबाट केबलकारसँग सम्बन्धित दुर्घटना घटेको अवस्थामा छिटो र प्रभावकारी उद्धार कार्यका लागि फौजलाई सक्षम तुल्याउन र भविष्यमा हवाई साधनको समेत प्रयोग गरी जटिल प्रकारको केबलकार उद्धार अभ्यास संचालनको लागि योजना तयार गर्न समेत मद्दत पुग्ने देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.