स्याउ उत्पादनको एक तिहाइ मात्रै बिक्री

रिपोर्ट नेपाल | 2023 Jan 10 | 07:44 am 1605

हुम्ला, पुस २६ः  यस वर्ष हिमाली जिल्ला हुम्लामा तीन करोड रुपियाँको स्याउ उत्पादन भएको छ । स्याउ उत्पादन राम्रो भए पनि बजारको समस्याका कारण ६० लाख रुपियाँको मात्रै स्याउ बिक्री भएको बताइएको छ ।

सिमकोट गाउँपालिका–६ का जयचन्द्र रोकायाले आफूले ५० क्विन्टल स्याउ उत्पादन गरेको जानकारी दिए । उनले स्याउ उत्पादन राम्रो भए पनि बिक्री भने आधा जति मात्रै भएको र अहिले पनि स्याउ भण्डारण गरिरहेको बताए । उनले फागुन महिनासम्ममा सबै उत्पादन बिक्री हुने विश्वास व्यक्त गरे ।

सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले जिल्लाभरि करिब तीन करोड रुपियाँको स्याउ उत्पादन भएको विवरण प्राप्त भएको बताए । यो मूल्यका स्याउमध्ये ६० प्रतिशत सिमकोट गाउँपालिकामा उत्पादन भएको उनले जानकारी दिए ।

उनले बजारको समस्याले गर्दा किसान ६० लाख रुपियाँ बराबरको स्याउ बिक्री गर्न बाध्य भएको जानकारी दिँदै अहिले पनि स्याउ बिक्री भइरहेका कारण बिक्रीको तथ्याङ्क वृद्धि हुने बताए ।

उनले स्याउ खेती गर्ने किसान बर्सेनि बढिरहेका कारण अब हरेक वर्ष उत्पादन वृद्धि हुने बताए । सिमकोट गाउँपालिकामा ६२ हेक्टरमा १८ हजार छ सय बोटले फल दिइरहेको ज्ञान केन्द्रको तथ्याङ्क छ । यहाँ किसानले गत वर्षसम्म २१ हजार बिरुवा लगाएका थिए ।

सडक यातायात नजोडिएको र हवाई मार्गबाट ढुवानी महँगो पर्ने भएका कारण किसानले उत्पादन गरेको स्याउ अन्य जिल्लामा बिक्रीका लागि जाने अवस्था छैन । हुम्लामा स्याउको बजार भनेको कर्मचारी र व्यापारी हुन् भने कोसेलीका रूपमा समेत बिक्री हुने गरेको छ ।  गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.