डोजर दुर्घटनामा परी मृत्यु भएका परिवारले पाए राहत

रिपोर्ट नेपाल | 2022 Dec 24 | 04:47 pm 1273

कालिकाेट, पुस ९ः जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका– १ अँधेरीखोलामा मङ्सिर २४ गते भएको डोजर दुर्घटनाका परी मृत्यु भएका परिवारले राहत पाएका छन्।

जिल्ला प्रशासन कार्यालय कालिकोटमा भएको छलफल पछि मृतकका परिवारलाई क्रिया खर्च बापत ५० हजार सहित ११ लाख राहत दिने सहमति भएको थियो। तर जिल्ला प्रशासन कार्यालय कालिकोटले नेपाल सरकारको नियम अनुसार मृतकको परिवारलाई राहत दिने सहमति भएको जनाएको छ।

सरकारी नियम अनुसार मृतकका प्रति परिवारले पाँच लाख पाउने छन् भने बाँकी क्षतिपूर्तिका विषयमा ठेकेदार कम्पनीसँग आन्तरिक सहमति हुने बताइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले नियम अनुसार राहत पाउने सहमति भएको र केही रकम पनि प्राप्त गरिसकेको बताए।

उता मृतकका परिवारले आफूहरूको कुरा प्रशासनले सुनेर माग अनुसारको राहत नभए पनि प्रति परिवार ११ लाखका दरले राहतदिने ठेकेदार कम्पनीसँग सहमति भएको बताएका छन्। शव भेटिएका परिवारले क्रिया खर्च पनि पाएका छन् भने बेपत्ता भएको एक जनाका परिवारले राहतबापत ११ लाख मात्र पाएका छन्। उनीहरूले किरिया खर्च भने पाएका छैनन्।

मृतक युवराज बुढाका भिनाजु चित्र थापाले क्रिया खर्च बापत ५० हजार र अन्य क्षतिपूर्ति बापत ११ लाख दिने सहमति भए अनुसार विभिन्न मितिको चेक बुझेको बताए। कालिकोटका प्रहरी प्रमुख जयेश्वर रिमालले सवारी धनीले अहिले क्षतिपूर्ति बापतको राहत रकम भुक्तानी गर्ने र पछि बिमा भएको खण्डमा सवारी धनीले बिमा कम्पनीबाट असुल गर्ने गरी सहमति भएर समस्याको समाधान गरेको बताए।

उनले ठेकेदार कम्पनी, सवारी धनीसँग के सहमति हुन्छ त्यो कुरा आफूलाई खासै चासो नहुने भन्दै कानुन अनुसार पीडित परिवारले पाँच लाख राहत उपलब्ध गराउने कुरामा आफूहरूले सहजीकरण गरेको सुनाए।

‘मान्छेको मूल्य त अथाह हुन्छ। रुपियाँले केही हुँदैन, तर सरकारले कानुन बनाएकाले कानुन अनुसारको राहत उपलब्ध गराउनु राज्यको दायित्व हो’ उनले भने।

गत मङ्सिर २४ गते फुकोट कर्णाली हाइड्रोपावरको सुरुङ हेर्न गएका बेला प्रदेश ३–०१–००३ (क) ६७७४ नम्वरको डोजर दुर्घटना हुँदा चालक सहित पाँच जनाको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता छन्।

तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जनाको चार दिनपछि सशस्त्र प्रहरीको गोताखोरले नदीबाट शव निकालेको थियो। दुर्घटनामा परी अन्य दुई जना घाइते भएका थिए। शनिवारका दिन जेसिबी चालक सहित आठ जना हाइड्रोपावरको सुरुङमा पानी जमेको छ छैन भनी हेर्न आएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.