प्रहरी कार्यालयमा अध्ययन कक्ष

| 2022 Dec 20 | 08:31 am 1221

कालिकाेट, पुस ५ः जनताको सुरक्षामा खट्ने प्रहरी फुर्सदको समयमा पुस्तक पढ्न व्यस्त छन्। प्रहरी र थुनुवामा सकारात्मक सोचको विकास गर्न, पढ्ने बानी बसाल्न प्रहरी कार्यालय कालिकोटमा अध्ययन कक्ष सुरु गरिएको छ।

‘थुनुवा, प्रहरी कर्मचारी र अध्ययनमा रुचि भएका पाठकले यसबाट लाभ लिन सक्छन्। प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालले भने बालबिज्याइँ गरेर आएका बालबालिका, थुनामा परेका महिलाका लागि स्थापना गरिएको महिला तथा बालबालिका सेवा केन्द्रलाई व्यवस्थित बनाउने क्रममा ३८ हजार मूल्यको किताब खरिद गरिएको बताए।

थुनुवाका लागि जतिखेर पनि अध्ययन गर्न पाउने गरी समय तालिका बनाइएको छ। प्रहरीका लागि भने बिहान ८ बजेदेखि ९ बजेसम्म र बेलुकी ५ बजेदेखि ६ बजेसम्मको अध्ययन समय तोकिएको छ। प्रहरीले सुरुवात गरेको कामको प्रशंसा गर्दै यहाँका स्थानीय तहले पनि थप पुस्तक र पुस्तकालयका लागि आवश्यक फर्निचरलगायतका सामग्री सहयोग गर्ने बाचा गरेका छन्।

‘लेट्स रिड टुगेदर’ अर्थात् ‘सँगसँगै पढौं’ भन्ने नाराका साथ सुरु गरिएको पुस्तकालय अवधारणा प्रहरीका लागि नयाँ भएकाले प्रहरी पनि अध्ययनमा उत्सुक रहेको सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक सुवराज बमले बताए।

अहिले प्रहरीको किताब कुनोमा कालिकोटकै लेखक बुद्धिसागरको कर्नाली ब्लुज, फिरफिरे, नारायण वाग्लेको पल्पसा क्याफे, झमक घिमिरेको जीवन काँडा कि फूल, हरिवंश आचार्यको चिना हराएको मान्छे, सुविन भट्टराईको साया र समर लभ, पारिजातको शिरीषको फूल, अमर न्यौपानेको गुलाबी फूल, करोडौं कस्तुरी र सेतो धरती, सरस्वती प्रतीक्षाको नथिया, चन्द्रप्रकाश बानियाँको महारानीलगायतका साहित्यिक पुस्तक छन्।

कार्यालयमै रमाइला र ज्ञानवद्र्धक पुस्तक पढ्न पाउँदा अध्ययन बानीको विकास भइरहेको प्रहरी जवान मनीषा थारूले बताइन्। ‘मैले त दुई दिनमै इजोरिया पढेर सकें’, उनले भनिन्, ‘अब यहाँ भएजति सबै किताब एक महिना भित्रै पढ्ने धोको छ।’ नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.