काठमाडौं, पुस १: प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल जापान सरकारद्वारा दिइने राजकीय सम्मानबाट विभूषित भएपछि आयोजित कार्यक्रममा सहभागी भए। सो अवसरमा प्रधानमन्त्री देउवाले वरिष्ठ नेता पौडेललाई जापान सरकारले प्रदान गरेको ‘दि अर्डर अफ द राइजिङ सन’बाट सम्मानित भएकोमा बधाई ज्ञापन गर्दै यो देशले नै पाएको अनुभूति भएको बताए।
त्यस्तै वरिष्ठ नेता पौडेलले यो सम्मानका लागि जापानी जनता, सरकार, त्यहाँका सम्राट र राजदूतप्रति आभार व्यक्त गर्दै यो सम्मान नेपाल, नेपाली र कांग्रेस पार्टीप्रतिको सम्मान भएको महसुस गरेको बताए।
सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान वरिष्ठ नेता पौडेललाई बिहीबार जापानी राजदूतको निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको हो। वरिष्ठ नेता पौडेललाई विशेषतः पूर्वसभामुखको हैसियतमा दुई देशबीचका संसदीय सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल-जापान सम्बन्ध सुदृढमा गरेकाे योगदानका लागि विभूषित गरिएको जनाइएको छ।