प्रधान सेनापति  शर्माद्वारा नेपाली सेनाका प्रशिक्षक तथा खेलाडीहरुलाई पुरस्कार

| 2022 Dec 15 | 07:52 am 1405

काठमाडाैं, मंसिर २९ः गण्डकी प्रदेशमा संचालन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७९ मा सहभागी भई विभिन्न विधामा स्वर्ण, रजत र कांस्य पदक प्राप्त गर्न सफल भएका नेपाली सेना, त्रिभुवन आर्मी क्लबमा आबद्ध खेलाडीहरु साथै प्रशिक्षकलाई जंगी अड्‍डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डपमा बुधबार आयोजित एक विशेष कार्यक्रमकाबीच पुरस्कार वितरण तथा सम्मान गरिएको छ ।

सो अवसरमा प्रधान सेनापति महारथी शर्माले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७९ मा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुलाई पुरस्कार वितरण गरी १४ जना रेकर्ड होल्डर र ३२ जना प्रशिक्षकहरुलाई प्रधान सेनापति प्रशंसा निशान पदक प्रदान गर्नु भएको थियो । साथै, प्रधान सेनापति महारथी शर्माले राष्ट्रिय किर्तीमान राख्न सफल ८ जना सैनिक खेलाडीहरुलाई पदोन्नती गरी दर्ज्यानी चिन्ह समेत प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले 26 th World Military Taekwondo Championship-2022 मा सहभागी भई पदक प्राप्त गर्न सफल हुने ३ जना खेलाडीहरुलाई समेत पुरस्कार वितरण गरेका थिए ।

उक्त कार्यक्रममा, सम्बोधन गर्नु हुँदै प्रधान सेनापति महारथी शर्माले राष्ट्रिय खेलकुद क्षेत्रमा पाएको सफलताबाट नेपाली सेनाले गौरवान्वित हुने अवसर प्राप्त गरेको र त्रिभुवन आर्मी क्लब राष्ट्रिय खेलकुद क्षेत्रको मेरुदण्डको रुपमा रहेको यथार्थलाई पुष्टि गर्न मद्दत पुगेको हुँदा सम्पूर्ण खेलाडीहरुलाई हृदय देखि आभार प्रकट गरेका थिए । उनले राष्ट्रिय खेलकुद क्षेत्रमा विशेष योगदान दिँदै अन्तर्राष्ट्रिय खेल जगतमा नेपालको छवीलाई बढाउन नेपाली सेना हरहमेसा प्रयासरत रहँदै आएको र त्रिभुवन आर्मी क्लब खेलाडी उत्पादनको मुख्य थलोको रुपमा रही आफ्नो दायरा बढाउन तल्लिन रहेको जानकारी गराए ।

उक्त प्रतियोगिताको क्रममा एक कर्मठ प्रतिभावान एवं लगनशील खेलाडी गुमाउन परेकोमा प्रधान सेनापति महारथी शर्माले दुःख व्यक्त गर्दै पुनः एक पटक शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना समेत व्यक्त गरेका थिए । सोही अवसरमा प्रधान सेनापति महारथी शर्माले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७९ मा आफ्नो क्षमता प्रदर्शन गरी १ सय ७२ स्वर्ण, १ सय
१० रजत र ८९ कांस्य गरी कुल ३ सय ७१ पदक प्राप्त गर्दै त्रिभुवन आर्मी क्लबलाई राष्ट्रिय च्याम्पियन बनाउने खेलाडीहरु, प्रशिक्षकवर्ग एवं व्यवस्थापन टोली लगायत प्रत्यक्ष वा परोक्ष रुपमा योगदान दिनु भएका सम्पूर्णलाई हार्दिक बधाई एवं धन्यवाद दिएका थिए ।

कार्यक्रमको दौरान बलाधिकृत रथी सरोज प्रताप राणाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७९ मा रजत पदक प्राप्त गरेका खेलाडीहरुलाई र बलाध्यक्ष रथी सिताराम खड्काले कांस्य पदक प्राप्त गरेका खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्दहरु, अधिकृत, पदिक, प्रशिक्षक तथा खेलाडीहरुको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.