काठमाडाैं, मंसिर २८ः काठमाण्डौ महानगरपालिकाको २८ औं महानगर दिवसको उपलक्ष्यमा नेपाली सेनाको सहकार्यमा बुधबारबाट जंगी अड्डास्थित श्री सैनिक केन्द्रीय पुस्तकालय अगाडीको खेल मैदानमा काठमाण्डौ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह र प्रधान सेनापति महारथी प्रभुराम शर्माले संयुक्त रुपमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर शुभारम्भ गरेका छन् ।


उक्त स्वास्थ्य शिविर स्थानीय बासिन्दाहरुलाई प्रभावकारी रुपमा स्वास्थ्य उपचार सुविधा दिलाउने उद्देश्यका साथ मिति २०७९ मंसिर २८ गते र २९ गते संचालन हुनेछ । बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म संचालन हुने शिविरमा, स्वास्थ्य परीक्षणका लागि बिहान ८ बजेबाट मध्यान्ह १२ बजेसम्म नाम दर्ता गर्न सकिने छ ।

सो स्वास्थ्य शिविरमा बलाधिकृत रथी सरोज प्रताप राणा, बलाध्यक्ष रथी सिताराम खड्का, काठमाण्डौ महानगरपालिकाका प्रशासकीय अधिकृत, नेपाली सेनाका रथीवृन्दहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

साथै, उक्त शिविरमा जनरल मेडिसिन, सर्जरी, कार्डियोलोजी, नाक, कान, घाटी, छाला रोग, छाती सम्बन्धी रोग, स्त्री रोग, बाल रोग, नसा तथा मानसिक रोग, हाड जोर्नी, आँखा सम्बन्धी रोग, अल्ट्रासाउन्ड, एक्स-रे, फिजियोथेरापी, दन्त स्वास्थ्य परामर्श, Echocardiography, ई.सि.जी. तथा ब्लड सुगर जांच लगायतका स्वास्थ्य सेवाहरु उपलब्ध गराई चिकित्सकहरुको सिफारिस अनुसार निःशुल्क औषधीसमेत वितरण गर्ने व्यवस्था रहेको छ ।

