खाद्य कम्पनीले थाल्यो धान किन्न

| 2022 Dec 12 | 07:22 am 1169

काठमाडौँ, मङ्सिर २६ः सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको छ । कम्पनीले विभिन्न जिल्लामा रहेका जिल्लास्थित कम्पनीका कार्यालयमार्फत धान खरिद प्रक्रिया अगाडि बढाएको हो । बर्दियाको राजापुर, बाँकेको नेपालगञ्ज र कैलालीको धनगढीमा रहेका कार्यालयबाट धान खरिद गर्न थालेको कम्पनीले जनाएको छ ।

कम्पनीका खरिद विभाग प्रमुख भेषनाथ न्यौपानेले विभिन्न जिल्लामा रहेका कार्यालयमार्फत धान खरिद प्रक्रिया सुरु गरिएको जानकारी दिए । बजेट अभावले गर्दा खरिद प्रक्रिया ढिलाइ भएको उनले जानकारी दिए ।

कम्पनीले गत शुक्रबारदेखि राजापुरबाट धान खरिद गर्न थालेको छ र ६३९ क्विन्टल मोटा धान खरिद गरिसकेको कम्पनीले जनाएको छ । सरकारले न्यूूनतम समर्थन मूल्य निर्धारण गरेको एक महिनापछि किसानबाट धान खरिद गर्ने प्रक्रिया सुरु गरेको हो । गत कात्तिक १६ गते सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको थियो ।

यो वर्ष कम्पनीले तीन लाख दुई हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ । सरकारले निर्धारण गरेको समर्थन मूल्यअनुसार धान खरिद गरिने कम्पनीले जनाएको छ ।

धान खरिद गर्न कम्पनीले ९८ करोड रुपियाँ छुट्याएको छ । सरकारले निर्धारण गरेको मूल्यभन्दा बजार मूल्य सस्तो रहने हुँदा फरक मूल्य बराबरको २७ करोड रुपियाँ उपलब्ध गराउन अर्थ मन्त्रालयमा पत्राचार गरिएको खरिद विभाग प्रमुख न्यौपानेले जानकारी दिए । गत वर्षको धान खरिद गरेबापतको फरक रकम ३४ करोड रुपियाँ लिन बाँकी रहेको उनले जानकारी दिए । सरकारले बजेट वक्तव्यमार्फत धान खरिद गरेको फरक रकम उपलब्ध गराउने घोषणा गरेको थियो ।

कम्पनीले यो वर्ष बिर्तामोड (झापा) र विराटनगरमा दुई/दुई हजार क्विन्टल, लहानबाट चार हजार पाँच सय क्विन्टल तथा जनकपुरबाट दुई हजार पाँच सय क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरेको छ ।

यस्तै वीरगञ्जबाट तीन हजार पाँच सय क्विन्टल, भैरहवाबाट एक हजार क्विन्टल, नेपालगञ्जबाट तीन हजार पाँच सय क्विन्टल, राजापुरबाट पाँच हजार पाँच सय क्विन्टल, धनगढीबाट पाँच हजार क्विन्टल, महेन्द्रनगरबाट एक हजार चार सय क्विन्टल र जुम्लाबाट तीन सय क्विन्टल मार्सी धान खरिद गर्न लागेको कम्पनीले जनाएको छ ।

व्यापारी/व्यवसायीले सस्तो मूल्यमा धान खरिद गर्ने हुँदा किसानलाई उचित मूल्य उपलब्ध गराउन समर्थन मूल्यमा कम्पनीले प्रत्येक वर्ष धान खरिद गर्ने गर्छ । कम्पनीले धान खरिद गरी चामल बिक्री गर्दै आएको छ ।

सरकारले चालू आर्थिक वर्षका लागि मोटा धानको मूल्य प्रतिक्विन्टल दुई हजार ९६७ रुपियाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार १२८ रुपियाँ तोकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्ताव र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहमतिमा सरकारले गत वर्षको तुलनामा प्रतिक्विन्टल २२६ रुपियाँसम्म मूल्य बढी तोकेको छ ।

गत वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ७५२ रुपियाँ र मध्यम धानको दुई हजार ९०२ रुपियाँ तोकेको थियो । सरकारले प्रत्येक वर्ष धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने गर्छ ।  खाद्य कम्पनीले गत वर्ष तीन लाख क्विन्टल धान खरिद गरेको थियो ।

राष्ट्रिय कृषक समूह महासङ्घका संस्थापक अध्यक्ष उद्धव अधिकारीले खाद्य कम्पनीले समयमा धान खरिद नगर्दा किसानले सस्तो मूूल्यमा धान बिक्री गरेको जानकारी दिए । किसानले प्रतिक्विन्टल दुई हजारदेखि दुई हजार चार सय रुपियाँमा धान बिक्री गरेको उनले जानकारी दिए ।

यसैबीच धान थन्क्याउने सिजन सुरु भइसक्दा पनि कम्पनीले किसानको धान खरिद नगरी व्यापारीले सस्तो मूल्यमा खरिद गर्दा किसान मारमा परेको भन्दै किसान सङ्गठनले विरोध गर्दै आएका छन् ।

अखिल नेपाल किसान महासङ्घले धान खरिद गर्नुपर्ने माग गरी शुक्रबार थापाथली कार्यालयमा र आइतबार कम्पनीको बिर्तामोड, वीरगञ्ज, भैरहवा कार्यालयमा घेराउ गरेको थियो । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.