डेढ हजार विदेशीलाई श्रम स्वीकृति

रिपोर्ट नेपाल | 2022 Dec 09 | 07:37 am 833

काठमाडौँ, मङ्सिर २३ः नेपालमा सञ्चालित ठूला परियोजनामा विदेशी नागरिकले काम गर्ने गरेका छन् । विशेष गरी चीनको अनुदानमा सञ्चालित र चिनियाँ ठेकेदारले काम गरिरहेका परियोजनामा प्राविधिक जनशक्ति आफ्नै देशलाई प्राथमिकता दिने गरेका हुन् । नेपालमा जुनसुकै क्षेत्रका दक्ष इन्जिनियर छन् तर विदेशबाट सञ्चालित परियोजनामा तल्लो पदमा नेपालीलाई काम दिए पनि माथिल्लो पदमा आफ्नै देशबाट प्राविधिक जनशक्ति ल्याउने गरेका छन् ।

नेपाल उद्योग परिसङ्घअन्तर्गतको ऊर्जा विकास समितिका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले नेपालमा विदेशी ठूलो लगानीका परियोजनाको उच्च पदमा विदेशीले नै प्राथमिकता पाउने गरेको बताए । ती परियोजनामा मेसिनरी जडानको काममा सकभर विदेशी प्राविधिक जनशक्ति परिचालन गर्ने गरिएको उनको भनाइ छ । उनको अनुभवमा चीनको लगानीमा सञ्चालित परियोजनामा दुई उद्देश्यले आफ्नै देशको जनशक्ति प्रयोग गर्छन् । पहिलो भाषागत रूपमा सहज हुन्छ भने अर्को आफ्नो परियोजनाको पैसा आफ्नै देशमा जाओस् भनेर प्राविधिकदेखि अन्य श्रमिक पनि आफ्नै देशको प्रयोग गर्ने गरेका छन् ।

अध्यक्ष प्रधानले नेपालमा जलविद्युत् क्षेत्रमा आवश्यक पर्ने मेकानिकल, सिभिल, इलेक्ट्रिकल सबै प्रकारका इन्जिनियर प्रयोग हुने र ती जनशक्ति पर्याप्त भएको जानकारी दिए ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी कार्यरत छन् । विभागका अनुसार रसुवागढी, त्रिशूली, मध्यभोटेकोसी, काबेली हाइड्रोपावर कम्पनी, दोहा इन्जिनियरिङ कम्पनी, हुवावे टेक्नोलोजी, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्समा समेत उच्च प्राविधिक श्रमिक विदेशी रहेका छन् ।

विभागका अनुसार विभाग २०७९ वैशाखदेखि कात्तिकसम्म (सात महिना)मा एक हजार ५१४ जना विदेशी नागरिकले नेपालमा काम गर्ने अनुमति (श्रम स्वीकृति) लिएका छन् । चालू आर्थिक वर्षको पहिलो चार महिनामा नयाँ र नवीकरण गरेर ६७१ जनाले श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्षको सो अवधिमा नवीकरण र नयाँ गरी ७२० विदेशीले श्रम स्वीकृति लिएका थिए । यो हेर्दा गत आर्थिक वर्षको तुलनामा यो वर्ष ४९ जनाले घटेको छ ।

त्यसो त विदेशी नागरिकको श्रम इजाजत व्यवस्थासम्बन्धी निर्देशिका २०७५ ले नेपालमा दक्ष जनशक्ति नपाएको अवस्थामा विदेशी राख्न पाउने कानुनी व्यवस्था छ । सोही कानुनअनुसार विदेशी नागरिक स्वदेशमा श्रम स्वीकृति लिएर काम गरिरहेको विभागका महानिर्देशक कृष्ण ज्ञवालीले जानकारी दिए।

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा दुुई लाख ६५ हजार १८५ जना रोजगारीका लागि विदेशिएका छन् । आव २०७९/८० को पहिलो महिना साउनमा ६३ हजार भदौमा ७६ हजार, असोजमा ५६ हजार र कात्तिक ७० हजारले श्रम स्वीकृति लिएका छन् ।

विदेशी नागरिकको श्रम इजाजत व्यवस्थासम्बन्धी निर्देशिका, २०७५ ले नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति आयात गरी काममा लगाउन सकिने व्यवस्था गरेको छ तर नेपाल सरकारका विभिन्न निकायसँग भएका सम्झौताबमोजिमको सङ्ख्यामा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्थाले अदक्ष श्रमिकसमेत नेपालमा आउने गरेको पाइन्छ ।

श्रमविज्ञ पूर्णचन्द्र भट्टराईले नेपाली श्रम बजारमा स्वदेशी जनशक्ति उपलब्ध हुन नसके मात्र दक्ष र सीपयुक्त विदेशी जनशक्तिलाई श्रम स्वीकृति दिनुपर्ने व्यवस्था बताए । उनका अनुसार नेपालमा उपलब्ध हुन नसक्ने दक्ष विदेशी श्रमिकलाई मात्र श्रम स्वीकृतिका लागि सम्बन्धित मन्त्रालय/विभागको सिफारिस एवं गृह मन्त्रालयको कार्य सहमतिका आधारमा श्रम स्वीकृति प्रक्रिया मिलाउनुपर्ने नीतिगत सुधारको आवश्यकता रहेको छ । विभागले नेपालमा काम गर्ने विदेशीलाई अधिकतम छ वर्षसम्म मात्र नवीकरण हुने जनाएको छ ।

यसैगरी एकै प्रकृतिको कामका लागि श्रम स्वीकृति लिने श्रमिकको सीप नेपालीलाई सिकाएर विदेशीलाई प्रतिस्थापन गर्नुपर्ने नियम रहेको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालमा रोजगारीका लागि ६९ देशका नागरिकले श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँ छन् । श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले ५ प्रतिशत मात्र विदेशी श्रमिक राख्न सकिने प्रावधान छ ।

विभागका अनुसार आव २०७८/७९ मा नेपालमा काम गर्न दुई हजार १८१ जना विदेशीले श्रम स्वीकृति लिएका थिए । सो अवधिमा ९५० जनाले नयाँ श्रम स्वीकृति लिएका थिए भने एक हजार २३१ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । आव २०७७/७८ मा दुई हजार ३९३ विदेशी नागरिकले श्रम इजाजत लिएकोभन्दा गत आर्थिक वर्षमा विदेशबाट आएर श्रम स्वीकृति लिनेको सङ्ख्या केही घटेको पाइएको छ ।

गत आर्थिक वर्ष नेपालमा श्रम इजाजत लिनेमध्ये सबैभन्दा धेरै अर्थात् झन्डै ७५ प्रतिशत चिनियाँ नागरिक छन् । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालमा काम गर्न इजाजत लिने विदेशीमा एक हजार ६२९ जना चिनियाँ, १०६ जना बेलायती, ८६ जना अमेरिकी, ६१ जना जापानी र ५७ जना भारतीय नागरिक छन् । विभागका अनुसार २०७९ साल सुरु भएयता वैशाखमा १९६, जेठमा ३६० र असारमा ३२७ र साउनमा १६० गरी कुल एक हजार ४३ जना विदेशीले विभागबाट श्रम इजाजत लिएका छन् । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.