अधिक फल्यो तर बेचिएन अदुवा

रिपोर्ट नेपाल | 2022 Dec 04 | 08:09 am 1553

डाेटी, मंसिर १८ः डोटीको बोगटान क्षेत्रमा अत्यधिक फल्ने अदुवा यसपालि बेचिएको छैन। जिल्लाको बडिकेदार, बोगटान फुड्सिल र जोरायल गाउँपालिकाका किसानले लगाएको नगदे बाली अदुवाले उचित मूल्य नपाउँदा किसानले बेच्न सकेका छैनन्।

जहिल्यै अदुवा खरिद गर्ने व्यापारी बारीसम्म पुगेर राम्रो मूल्य दिने गरे पनि गत वर्षदेखि व्यापारीले अदुवा नकिन्दा किसान मर्कामा परेका छन्। उचित मूल्य नपाएपछि केही किसानले बारीबाट अदुवा निकालेका छैनन् भने केही किसानले खनिसकेको अदुवा सस्तोमै बेच्न व्यापारी गुहार्नुपर्ने अवस्था आएको छ। यसपालि गत वर्षको तुलनामा यहाँका किसानको बारीमा चार प्रतिशतले उत्पादनमा वृद्धि भएको छ। उत्पादनमा वृद्धि भए पनि उचित मूल्य र बजारीकरण नहुँदा किसान चिन्तित छन्।

पहिले किसानले अदुवा प्रतिकिलो ५० देखि ६० का दरले बेचे पनि यसपालि भने प्रतिकिलो ३० देखि ४० रूपैयाँमा बिक्री गर्न बाध्य भएका छन्। बडिकेदार गाउँपालिका–४ का किसान नरेन्द्रबहादुर ताडीका अनुसार गत वर्ष आफूले उत्पादन गरेको अदुवा ५० हजार रूपैयाँमा बेचे पनि यसपालि भने २५ हजार रूपैयाँमा समेत बेचिएको छैन।

बडिकेदार पातलका अर्का किसान प्रवीण ताडीले पनि यसपालि व्यावसायिक रूपमा अदुवा खेती गरे तर यसैपालि अदुवा  किन्ने व्यापारी नआएकाले उनीहरूले उचित मूल्य पाएनन्। ‘बाहिरबाट व्यापारी आउँदा उचित मूल्य पाइन्थ्यो,’ उनले भने, ‘यहींका व्यापारीलाई सस्तोमा बेच्नु मात्रै नभई जबरजस्ती किसानले भिडाउनु पर्ने बाध्यता छ।’ गत वर्ष उनले ४२ रूपैयाँ केजीमा अदुवा बेचेको बताउँदै उनले भने, ‘यसपालि भने ३० रूपैयाँ केजीमा पनि कसैले किनिदिएनन्।’

कसैले पनि अदुवा नकिनिदिएपछि किसान स्थानीय व्यापारीलाई जबरजस्ती अदुवा खरिद गरिदिन आग्रह गरिरहेका छन्। जसले गर्दा मौकाको फाइदा उठाउँदै स्थानीय व्यापारीले पनि आफूले बोलेको मूल्यमा किसानको अदुवा खरिद गर्ने गरेको उनी बताउँछन्। ‘उत्पादित माल हाम्रो हो, त्यसको मूल्य निर्धारण गर्न पाउनुपर्ने हामीले हो,’ उनले भने, ‘तर कसैले अदुवा नकिनिदिएपछि स्थानीय व्यापारीलाई नै कतिमा किनिदिने भन्दै उनीहरूले बोलेकै मूल्यमा अदुवा बेच्नुपर्ने अवस्था रहेको छ।’

डोटीमा सबैभन्दा बढी अदुवा फल्ने बडिकेदारको लाना, बर्छैन, घाङल र मान्नाकापडी क्षेत्रमा अदुवा खेतीमा आकर्षित गर्न तमामौ सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले सहयोग गरे पनि अहिले फसलमा मूल्य निर्धारणका लागि कसैले पहल नगरेको उनीहरूको गुनासो छ।

अदुवा खेती गर्न संघसंस्थाले लालायित पारे पनि अहिले मूल्य घट्दा कसैले वास्ता नगरेको लानाकेदारेश्वरका चक्र मल्लले बताए। उनले भने, ‘भारतमा अत्यधिक अदुवा फलेका कारण बजार सस्तियो र यहाँको अदुवाको बजार प्रभावित बनेका कारण बाहिरबाट व्यापारीहरू यहाँ पुग्दैनन्। डोटीको अदुवाको बजार भनेकै भारत रहे पनि पछिल्लो समयमा भारतमा व्यापारीहरूले लैजान छाडेको र स्थानीय बजारमै खपत गराउन थालेपछि मूल्यमा गिरावट आएको हो।

गत वर्ष डोटीमा ७ सय  २० हेक्टर क्षेत्रफलमा गरिएको अदुवा खेतीबाट १३ हजार २ सय ११ मेट्रिक टन उत्पादन भएको थियो भने यस वर्ष ८ सय ४५ हेक्टरमा अदुवा खेती गरिएकोमा १४ हजार मेट्रिक टन अदुवा उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.