जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ

| 2022 Nov 29 | 05:55 pm 1069

झापा, मंसिर १३ः जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी कन्काई नगरपालिका-४ बस्ने ७७ वर्षीय धनपति ढुङगानालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत झापाको २०६७ पुस १३ गतेको फैसलाले जबरजस्ती करणी र डाँका मुद्दामा ६ वर्ष कैद र ७५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय भद्रपुर चन्द्रगढी पठाइएको छ ।

अवैध लागूऔषध सहित पक्राउ

कञ्चनपुर, बेलौरी नगरपालिका-७ कालोपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९१ मिलिग्राम सहित कैलाली गोदावरी नगरपालिका-३ बस्ने ४६ वर्षीय कर्ण बिक समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु.प्र.प.०१ ००१ ह २८१२ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी अटोका चालक बिक समेत ३ जनालाई पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-१० धुलाबारी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय मिलिग्राम सहित भारत घर भएका २२ वर्षीय रजिया आलमलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.