सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामा दोषी ठहर, १ वर्ष कैद सजाय

| 2018 Aug 09 | 05:47 pm 1735

काठमाडौं, २४ साउन : गुण्डा नाइके गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारीकामान जोशी, रत्नबहादुर बागचन्दको संयुक्त इजालासले लामालाई दोषी ठहर गरेको हो।

‘एक करोड ४० लाख ५० हजार बिगोसम्मको हकमा आरोप दाबी बमोजिमको कसुर गरेको हुँदा निज प्रतिवादी गणेश लामालाई एक वर्ष कैद र सो बराबरको प्रतिवादी लामाको सम्पत्ति जफत हुने’, फैसला भएकाे विशेष अदालतका प्रवक्ता नगेन्द्र केशरी पोखरेलले जानकारी  दिए ।

अन्य प्रतिवादीले भने सफाई पाएका छन्। लामालाई दोषी ठहर गर्दै विशेष अदालतले अन्य प्रतिवादी उनकी श्रीमती लक्ष्मी लामा, बाबु पाल्साङ लामा, आमा रञ्जु लामा, भाइहरु राकेश, विनोदलाई सफाई दिएको हो।

उनले गुन्डागर्दी लगायत आपराधिक गतिविधिबाट २७ करोड १ लाख रुपैयाँ सम्पती जोडेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरेको अनुसन्धानमा आधारीत भएर २०७० साल जेठ ५ गते लामा सहित पाँच जना गुन्डा नाईके विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर भएको थियो। मुद्दा दर्ता भएको पाँच वर्षपछि विशेष अदालतले अन्तिम फैसला सुनाउँदै लामालाई सजाय दिएको हो।

विभागले ५ जना गुन्डा नाइके विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो। अन्य चार जनाले अदालतबाट सफाइ पाइसकेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.