यी हुन्, जमानत जोगाउन नसकेका पूर्वमन्त्री

रिपोर्ट नेपाल | 2022 Nov 26 | 08:22 am 1673

काठमाडौं, मंसिर १०ः दुई पटक सांसद र दुई नै पटक मन्त्री भएका जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, तीनपटक सांसद र एकपटक मन्त्री भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता लक्ष्मणलाल कर्णको जमानत ‘जफत’ हुने भएको छ ।

त्यस्तै, दुई पटक सांसद र एकपटक राज्यमन्त्री भएका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता रामवीर मानन्धर पनि यो निर्वाचनमा जमानत जोगाउन नसक्ने पंक्तिमा परेका छन् । प्रतिनिधिसभामा काठमाडौं ७ बाट उम्मेदवार श्रेष्ठ एक महिनाअघि मन्त्री थिए । न्यूनतम १० प्रतिशत मत कटाउन नसक्दा उनको जमानत जफत भएको हो ।

कुल सदर मतको १० प्रतिशत कटाउन नसक्ने उम्मेदवारको जमानत जफत हुने कानूनी व्यवस्था छ । काठमाडौं ७ मा कुल ३६ हजार ६१ सदर मत रहेकामा श्रेष्ठले २ हजार ४ सय ६१ मत मात्रै पाए । कुल सदर मतको अनुपातमा उनले ६.८ प्रतिशत मत पाएका छन् । मध्यावधि निर्वाचन २०५१ मा प्रत्यक्ष सांसद विजयी श्रेष्ठ २०७४ मा जसपाबाट समानुपातिक सांसद थिए । उनी दुईपटक मन्त्री भइसकेका छन् ।

श्रेष्ठ २०५५ मा आवास तथा भौतिक योजनामन्त्री र शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री थिए । जसपाले एमालेसँग चुनावी तालमेल गरेपछि उनीसहित जसपाका चार मन्त्रीलाई देउवाले गत २७ असोजमा बर्खास्त गरेका थिए । यसैगरी, जमानत जोगाउन नसकेका पूर्वराज्यमन्त्री मानन्धर हुन् ।

एमालेबाट टिकट नपाएपछि काठमाडौं ७ बाटै स्वतन्त्र चुनाव लडेका मानन्धर १ हजार २ सय १५ मतमै सीमित भए । यो कुल सदर मतको ३.३ प्रतिशत हो। मानन्धर यही क्षेत्रबाट २०७० र २०७४ मा गरी दुईपटक सांसद जितेका नेता हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा २०७६ मा उनी सहरी विकास राज्यमन्त्री थिए ।

लोसपाका वरिष्ठ नेता कर्णले पनि यसपटक जमानत जोगाउन सकेनन् । पर्सा १ बाट उम्मेदवारी दिएका उनले १ हजार १ सय १७ मत पाए । ४८ हजार ५ सय २६ सदर मतमा उनले पाएको हिस्सा २.३ प्रतिशत मात्र हो । २०६४ र २०७० मा समानुपातिक सांसद बनेका उनी २०७४ मा पर्सा ४ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भएका थिए । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको कार्यकालमा उनी बिना विभागीय मन्त्रीसमेत बने । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.