काठमाडौं, मङ्सिर ७ः प्रतिनिधि सभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जीत हासिल गरेको छ ।
बुधबार बिहान सम्पन्न काठमाडौं क्षेत्र नम्बर २ को मतगणनाअनुसार प्रतिनिधि सभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम विजयी भएकी छन्। निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाएकी छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मणिराम फुयाँलले ११ हजार ५५५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा (माओवादी) का उम्मेदवार ओनसरी घर्तीले नौ हजार ४४९ मत पाएकी छन् । काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ ५२ हजार ९५६ मत खसेकोमा दुई हजार ११६ मत बदर भएको थियो ।