शिक्षा प्रमुखको धन्दा, किर्ते हस्ताक्षर देखि फर्जी बिलसम्म

| 2022 Nov 05 | 07:39 am 1661

कालिकोट, कात्तिक १९ः जिल्ला शिक्षा तथा समन्वय इकाई कार्यालय कालिकोटमा व्यापक अनियमितता भएको पाइएको छ । कार्यालय प्रमुख चन्द्रप्रसाद अधिकारीले आफै पेस्की लिने, कार्यक्रम गर्ने र विल भरपाई किर्ते गरी अनियमितता गरेको पाइएको हो ।

२०७९ साल साउन २० गते द्धन्द्धपीडित शिक्षकहरु पदस्थापन तथा पुर्नवहालीका बारेमा बसेको बैठकमा उपस्थित नौ जना शिक्षकहरूको कार्यालय प्रमुख चन्द्रप्रकाश अधिकारीले किर्ते हस्ताक्षर गरी रकम खाएको पाइएको हो । एक जनालाई एक हजार पाँच सयका दरले पाउने बैठक भत्ता शिक्षा विकास तथा समन्वय इकाई प्रमुख अधिकारीले किर्ते गरी बजेट खर्च देखाए पनि सम्बन्धित शिक्षकलाई भत्तालाई नदिएको पाइएको छ ।

बैठकमा उपस्थित ९ जना मध्ये कार्यालय प्रमुख र सूचना अधिकारी बाहेक ७ जनाको एक हजार पाँच सयका दरले पाउने रकममा कर कट्टी गरी जम्मा ८ हजार नौ सय २५ रुपैयाँ प्रमुखले लिएको पाइएको छ । बैठकमा उपस्थित शिक्षक सङ्घ सङ्गठनका पदाधिकारीहरूले आफूहरू बैठकमा उपस्थिति रहेको तर, भत्ताको भरपाईमा हस्ताक्षर नगरेको बताएका छन् ।

उपस्थित सहभागीहरुको बैठक भत्ताको भरपाई र अन्य बैठकमा माइन्युटहरुको हस्ताक्षरमा पनि फरक देखिएको छ । यस विषयमा कार्यालय प्रमुख अधिकारीले रुपियाँ निकासा नभएकाले बैठक भत्ता दिन नसकेको दाबी गरे । तर बजेट भने कार्यालयको खाताबाट घटेको छ । लेखापाल पूर्णचन्द्र काफ्लेले आफू धेरै कार्यालयको लेखा हेर्ने भएकाले कार्यालय प्रमुखले आफ्नो नाममा पेस्की माग्ने भएकाले आफूले सल्लाह दिँदा पनि नमानेर दिने गरेको र उनले के गर्नु हुन्छ आफूलाई थाह नहुने गरेको बताए । उनले कार्यालय प्रमुखको हस्ताक्षर सहित खर्च बुक गर्न आदेश भएपछि आफूले खर्च विवरण मात्र राख्ने गरेको सुनाए ।

कार्यालय प्रमुख अधिकारीसँग सम्पर्क गरेर किर्ते हस्ताक्षर किन गर्नु भएको भनी प्रश्न गर्दा जवाफ दिन मानेन् ।

कार्यालय प्रमुख अधिकारीको यो एउटा सानो उदाहरण मात्र हो । कार्यालय प्रमुख अधिकारीले अन्य जिल्लाबाट सरुवा भएर आउने शिक्षकबाट रकम असुल गरेको पाइएको छ । रास्कोटका एक शिक्षकबाट घुस बापतको चेक मागेका थिए । स्टेसनरी देखि खाजा बापतको रकममा समेत उहाँले आफै विल भरपाई उठाउने  र लेखालाई भुक्तानीका लागि पठाउने गरेको देखिन्छ ।

अख्तियारको काम समेत हेरिरहनु भएका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले कार्यालय प्रमुख होस वा कुनै कर्मचारी गलत गर्नेलाई आफूले संरक्षण नगर्ने बताए ।

दुई महिना हाजिर भएनन् कार्यालय प्रमुख

असोज १ गते देखी कार्यालय प्रमुख देखी केही कर्मचारी अफिसमा नबसेको देखिएको छ । असोज १ गते देखी कार्यालय प्रमुख चन्दप्रकाश अधिकारी र कार्यालय सहयोगी दैनिक हाजिर नभएको पाइएको छ । दुई महिना सम्म कार्यालयमा हाजिर नभएका अधिकारी हाल काठमाडौंमा बसेको बुझिएको छ । यति मात्र नभई गाडी नै नभएको कार्यालयमा इन्धन र मर्मतको बिल समेत मिलाएर खर्च गरेको देखिन्छ । कार्यालयको गाडी र जेनरेटरको इन्धन खर्च भनेर रकम खर्च समेत गरेको देखिएको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.