४ सय ८० किलो अवैध लागूऔषध (खात) सहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2022 Nov 04 | 08:01 pm 1573

ललितपुर, कात्तिक १८ः ललितपुर महानगरपालिका-२४ बस्ने ३६ वर्षीय कविराज खड्का र धादिङ सिद्धलेख गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-३१ शान्तीनगर बस्ने २८ वर्षीय राम कुमार श्रेष्ठलाई अवैध लागूऔषध (खात) जस्तो देखिने सुकेको पातका टुक्राहरू ४ सय ८० किलो सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

कविराजले अवैध लागूऔषध ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज र लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले कविराजले घरको आँगनमा पार्किङ गरी राखेको बा.२० च १५८ नम्बरको बोलेरोभित्र विभिन्न कार्टुनमा राखिएको २ सय २० किलो र कविराजको घरको कोठाबाट समेत गरी २ सय ६० किलो गरी जम्मा ४ सय ८० किलो उक्त लागूऔषध सहित फेला पारी कविराज र बोलेरो चालक राम कुमारलाई पक्राउ गरेको हो ।

उनीहरू उपर लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइहेको छ ।

अवैध लागूऔषध गाँजा सहित पक्राउ तथा बरामद

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजाको धुलो १ किलो ६ सय ग्राम सहित धादिङ थाक्रे गाउँपालिका-७ बस्ने ६१ वर्षीय साईला तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धादिङको महादेववेशीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.२ ख ६३६८ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा काउली राखी काउलीको बिचमा लुकाई छिपाई ल्याउँदै गरेको उक्त गाँजाको धुलो सहित फेला पारी पक्राउ गरको हो ।

पर्सा, बहुदरमाई नगरपालिका-७ छप्कैयास्थित खोलाको किनारमा रहेको बाँसको झ्याङमाबाट अवैध लागूऔषध गाँजा करिब ७ किलो शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरियबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.