भटमास र पाम तेलको भर

रिपोर्ट नेपाल | 2022 Nov 04 | 08:15 am 1249

काठमाडौँ, कात्तिक १८ः विगत केही समययता आयात निर्यातमा गिरावट आएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज)मा ४१ अर्ब ८२ करोड १९ लाख रुपियाँको निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ७१ प्रतिशत कम हो । आव २०७८/७९ को पहिलो तीन महिनामा ६५ अर्ब ५२ करोड आठ लाख रुपियाँको निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ ।

चालू आर्थिक वर्षको असोजसम्ममा चार खर्ब ९९ करोड ८३ लाख रुपियाँको आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चार खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख रुपियाँको आयात भएको थियो । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा १६ प्रतिशतले गिरावट आएको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको साउनसम्ममा आयात १२ प्रतिशत र निर्यात २९ प्रतिशत तथा भदौमा आयात १३ प्रतिशत र निर्यात ३५ प्रतिशतले गिरावट आएको थियो ।

विदेशी विनिमय सञ्चितिका कारण सरकारले लिएको आयात नियन्त्रणको नीतिका कारण आयातको परिमाण घटे पनि निर्यात पनि घट्नुले चिन्ता थपेको छ । कोरोना सङ्क्रमण, रुस–युक्रेन युद्धलगायतका कारण विश्व अर्थतन्त्रमा परेको प्रभावका कारण पनि नेपालको निर्यात प्रभावित भएको हो ।

भटमास तेल र पाम तेलको प्रभाव

यो अवधिमा भटमासको तेल र पाम तेलको निर्यातमा उच्च गिरावट आएको छ । यिनै दुई वस्तुको निर्यात घट्दा कुल निर्यातमा गिरावट आएको हो ।

चालू आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा कुल निर्यातमा प्रशोधित खाद्य तेल (भटमास तेल र पाम तेल)को निर्यात २७ दशमलव १९ प्रतिशत हिस्सा ओगटेको छ ।

यी दुई वस्तुको कच्चा पदार्थका लागि विदेशमै निर्भर हुनुपर्छ । आयातीत कच्चा पदार्थ प्रशोधन गरी निर्यात हुने गरेको छ । कच्चा पदार्थ आयात कम हुुँदा निर्यातमा गिरावट आएको हो ।

सो तीन महिनाको अवधिमा कच्चा भटमास तेलको आयातमा ३१ दशमलव ९ प्रतिशतले कमी आई १४ अर्ब रुपियाँमा झरेको छ । यस्तै कच्चा पाम तेलको आयात २२ दशमलव ६ प्रतिशतले कमी आई नौ अर्ब ९७ करोड रुपियाँमा झरेको छ । पाम तेल र भटमासको तेल छिमेकी मुलुक भारतमा निर्यात हुने गर्छ ।

नेपालबाट सबैभन्दा धेरै निर्यात हुने पाम तेलको निर्यातमा ४० दशमलव ४१ प्रतिशतले ह्रास आई आठ अर्ब पाँच करोड रुपियाँमा झरेको छ । अघिल्लो वर्षको सो अवधिमा १३ अर्ब ५१ करोड रुपियाँको निर्यात भएको थियो ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा भटमास तेलको निर्यातमा ८५ दशमलव ६४ प्रतिशतले ह्रास आई तीन अर्ब १६ करोड रुपियाँमा झरेको छ । गत वर्ष सो अवधिमा २२ अर्ब रुपियाँको भटमासको तेल निर्यात भएको थियो ।

यस्तै जुट तथा जुटका उत्पादनको निर्यातमा समीक्षा अवधिमा १० दशमलव ६६ प्रतिशतले ह्रास आई दुई अर्ब ११ करोड रुपियाँमा निर्यात भएको छ । जुट भने स्वदेशी कृषिजन्य उत्पादन हो । अलैँची निर्यातमा ६ प्रतिशतले कमी आई एक अर्ब २० करोड भएको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्क छ ।

कच्चा पदार्थ आयातमै कडाइ

व्यापारविज्ञ रविशङ्कर सैँजू व्यवसायीले कच्चा पदार्थ आयात गर्न नपाउँदा निर्यातमा कमी आएको बताए ।

“अहिले बैङ्कको ब्याजदर उच्च छ, ब्याजले प्रतीतपत्र (एलसी) नियमित रूपमा खोलेका छैनन् । पर्याप्त मात्रामा कच्चा पदार्थ आयात नहुँदा निर्यात घटेको हो,” उनले भने । पाम तेलको माग कम भएकाले निर्यातमा गिरावट आएको उनले बताए ।

पाम तेल स्वदेशी उत्पादन नभएकाले यसले निर्यातमा दीर्घकालीन प्रभाव नपार्ने धारणा उनले व्यक्त गरे । “अहिले भारतले पाम तेलको कच्चा पदार्थमा भन्सार महसुल घटाएकाले अन्य देशबाट सस्तोमा आयात हुँदा नेपालबाट कम निर्यात भएको हो,” उनले भने।

कच्चा पदार्थ आयात गरेर निर्यात बढाउन नसक्ने हुँदा स्वदेशी उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ । व्यवसायीले पाम तेलको कच्चा पदार्थ इन्डोनेसिया, मलेसिया र थाइल्यान्डलगायतका देशबाट ल्याई प्रशोधन गरी निर्यात गर्छन् । भारतीय आयातकर्ताले सिधै इन्डोनेसियाबाट आयात गर्दा ४० प्रतिशत भन्सार तिर्नुपर्छ । व्यवसायीले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा)अन्तर्गत नेपालबाट ८ प्रतिशत भन्सार शुल्कमा निर्यात गर्छन् ।

व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले ब्याजको उच्च ब्याजदर र डलरको मूल्य बढेकाले निर्यातमा कमी आएको बताए । भारतले पाम तेलको कच्चा पदार्थ निर्यातमा भन्सार शुल्क घटाएकाले नेपालबाट निर्यात घटेको उनले जानकारी दिए।

“स्वदेशी उत्पादन नभई कच्चा पदार्थ आयात गरेर निर्यात बढेको हो, यसले निर्यातमा दीर्घकालीन प्रभाव पार्दैन । स्थानीय उत्पादन प्रवद्र्धन गर्ने सरकारी नीति छैन, स्थानीय उत्पादन वृद्धि नगरेसम्म निर्यात बढ्न सक्दैन,” उनले भने ।

चिया, गलैँचा र तयारी पोसाकको वृद्धि

पहिलो तीन महिनाको अवधिमा उनी गलैँचाको निर्यातमा २५ दशमलव ११ प्रतिशतले बढेर तीन अर्ब सात करोड रुपियाँको निर्यात भएको छ । फलाम तथा तिनका उत्पादनको निर्यातमा ५२६ दशमलव ३४ प्रतिशत वृद्धि भई दुई अर्ब २७ करोड रुपियाँको निर्यात भएको छ ।

तयारी पोसाकको निर्यातमा ३१ दशमलव ३४ प्रतिशतले वृद्धि भई दुई अर्ब ३८ करोड रुपियाँको भएको छ । चियाको निर्यातमा ३० दशमलव १७ प्रतिशतले वृद्धि भई एक अर्ब ३१ करोड रुपियाँको निर्यात भएको छ ।

एक अर्ब ७२ करोड रुपियाँको ऊनी फेल्ट, एक अर्ब छ करोड रुपियाँको जुस, तीन अर्ब सात करोड रुपियाँको पोलिस्टर यार्नको निर्यात भएको केन्द्रको तथ्याङ्क छ ।

नेपालबाट निर्यात हुनेमा पाम तेल, भटमास तेल, पोलिस्टर तथा अन्य धागो, ऊन, गलैँचा, तयारी पोसाक, फलाम तथा फलामका उत्पादन, जुट तथा जुटका समान, ऊनी फेल्टका उत्पादन, जुस, चिया, अलैँची, पस्मिना सल, कपडा, कुकु,र बिरालाका आहार, चाउचाउ, जुडीबुटी, नेपाली हाते कागज रहेका छन् । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.