सरकारको गरिब सूचीमा धनाढ्य राज, राजधानीमा घर भएका वडा सदस्य अति गरिब !

| 2018 Aug 08 | 06:57 am 5838

रुकुम, साउन २३: जिल्लाका धनीहरूलाई नै सरकारले गरिबको सूचीमा राखेको छ। सबै स्थानीय तह (तीन नगरपालिका र तीन गाउँपालिका) ले नामावली नसच्चिएसम्म परिचयपत्र नबाँड्ने बताएका छन्। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट आएको नामावलीअनुसार सबैलाई परिचयपत्र वितरण गर्न नसकिने उनीहरूको भनाइ छ ।

मन्त्रालयले विभिन्न १८ सूचकलाई आधार मानेर ०६९ सालमा गरिबको विवरण संकलन गरेको थियो । मन्त्रालयको तथ्यांकअनुसार जिल्लामा कुल २५ हजार ६३४ घरपरिवारमध्ये ५ हजार ८ सय ३९ घरपरिवार गरिबीको रेखामुनि छन्। जसमा २ हजार ८ सय ५९ परिवार अति गरिब, १ हजार ७ सय ५९ मध्यम गरिब र १ हजार २ सय २१ परिवार सामान्य गरिब छन्।

राजधानीमा घर भएका वडा सदस्य पनि अति गरिब

सदरमुकामसमेत रहेको मुसीकोट नगरपालिका-४ का वडा सदस्य जगतबहादुर खड्का पनि अति गरिबको सूचीमा परेका छन् । उनले मन्त्रालयबाट सूची आएपछि आफूले थाहा पाएको र गरिबको परिचयपत्र नलिने बताए। जिल्लामा उनी सम्पन्न परिवारमा गनिन्छन् । उनको काठमाडौंमा समेत घर छ । मुसीकोट–४ सोलावाङमा पनि तीनतले ढुंगे घरसहित करोडौँको जमिन छ।

मन्त्रालयले पठाएको नामावलीअनुसार सबैलाई परिचयपत्र दिन नसकिने मेयर देवीलाल गौतमले बताए। ‘कि मन्त्रालय नै आएर साँच्चिकैका गरिबको पहिचान गरोस्,’ उनले भने, ‘नभए हामीलाई जिम्मा देओस्, हामी दूधको दूध पानीको पानी छुट्याउँछौँ।’ नगरपालिकामा २१ दशमलव ७० प्रतिशत घरपरिवार गरिब रहेको मन्त्रालयको तथ्यांक छ।

अन्य तहमा पनि समस्या

आठबिसकोट नगरपालिकाले गरिबको सूचीमा परेकामध्ये ६० प्रतिशत धनी रहेको निष्कर्ष निकालेको छ। नगर कार्यपालिका बैठकले मन्त्रालयबाट आएको सूची गलत रहेको ठहर गर्दै परिचयपत्र नबाँड्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए। यही अवस्थामा गरिब परिचयपत्र बाँड्न नसकिने कार्यापालिकाको निर्णय मन्त्रालयमा पठाउने तयारी भइरहेको उनको भनाइ छ । नगरपालिकामा १ हजार ११ अति गरिब, ५ सय ५३ मध्यम गरिब र ३ सय ६६ सामान्य गरिब रहेको नामावली आएको छ। मन्त्रालयको तथ्यांकअनुसार नगरपालिकामा गरिबीको दर कुल घरपरिवारको ४४ दशमलव २० प्रतिशत छ।

बाँफीकोट गाउँपालिकाका २८ दशमलव ४० प्रतिशत घरपरिवार गरिबीको सूचीमा छन् । मन्त्रालयले पठाएको नामावलीमा रहेका सबै घरपरिवार गरिब नरहेको अध्यक्ष धर्मबहादुर केसीले बताए । ‘पर्नैपर्ने नाम सूचीमा परेका छैनन्,’ उनले भने, ‘नपर्नुपर्ने नाम सूचीमा परेपछि हामीले परिचयपत्र बाँडेका छैनौँ।’

त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिकाले पनि गरिबको परिचयपत्र बाँड्ने कार्यक्रमलाई स्थगित गरेका छन्। त्रिवेणी गाउँपालिकामा ३ हजार ३ सय ९९ घरपरिवारमध्ये २ सय ३७ अति गरिब, १ सय ३६ मध्यम गरिब र १ सय २३ परिवार सामान्य गरिब रहेको मन्त्रालयको तथ्यांक छ । अहिलेको नामावलीअनुसार परिचयपत्र बाँढ्दा धनीको हातमा पनि गरिबी परिचयपत्र पर्ने र यसको दोष गाउँपालिकालाई लाग्ने भएकाले परिचयपत्र नबाँडिएको गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले बताए।

सानीभेरी गाउँपालिकाले पनि परिचयपत्र गाउँपालिकामै थन्क्याएर राखेको छ । गाउँपालिकाका ३ सय ५० घरधुरी अति गरिब, २ सय २० मध्यम गरिब र १ सय ५२ परिवार सामान्य गरिबको सूचीमा परेका छन्। गाउँपालिका अध्यक्ष नरबहादुर पुनले गरिब घरपरिवार पहिचानको जिम्मा स्थानीय तहलाई दिनुपर्ने बताए।

प्रशस्त जग्गा भएका वडाध्यक्ष अति गरिब

चौरजहारी नगरपालिका–७ का वडाध्यक्ष इन्द्रलाल शर्माको नाम अति गरिबको सूचीमा छ। उनका कोटजहारी र नार्जीमा दुईवटा घर छन्। जग्गाजमिन पनि प्रशस्त छ । दुई छोरा शिक्षक छन् भने अर्का एक नगरपालिकामा अमिन छन्। सूचीमा आफ्नो नाम कसरी पर्‍यो भन्ने थाहा नभएको उनले बताए। गरिबको सूचीमा धनीहरूको

समेत नाम परेपछि नगरपालिकाले परिचयपत्र बाँड्न अस्वीकार गरेको छ। ‘मन्त्रालयबाट आएको गरिबको सूची हास्यास्पद छ,’ मेयर विशाल शर्माले भने, ‘त्यही सूचीअनुसार परिचयपत्र बाँड्न सकिँदैन ।’ नयाँ पत्रिका

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.