काठमाडौं, कात्तिक ११: नागार्जुन नगरपालिकाको एक रिसोर्टमा भाइटीकाको दिन (बिहीबार) रातिजुवा खेलिरहेको अवस्थामा १८ जना जुवाडे पक्राउ परेका छन् । नागार्जुन नगरपालिका–७ मा रहेको दहचोक सिटी भ्यू रिसोर्ट प्रालिबाट प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई जुवा र कौडा खेलिरहेको अवस्था फेला परेको थियो ।
पक्राउ पर्नेको साथबाट नगद ३ लाख ८२ हजार ५९५ रुपैयाँ नगद, १५ बुक तास सेट र १६ थान कौडा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।