लक्ष्मीपूजाको साँझ ३८० मेगावाट बिजुली भारत निर्यात

रिपोर्ट नेपाल | 2022 Oct 25 | 07:39 am 1465

काठमाडौं, कात्तिक ८ः नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको साँझ पिक आवरमा पनि बिजुली भारत निर्यात गरेको छ।

प्राधिकरणका अनुसार सोमबार साँझ पिक आवरमा बढी भएको ३८० मेगावाट बिजुली भारतीय बजारमा बेचिएको हो।

लक्ष्मीपूजाको साँझ ६ बजेर १० मिनेटमा नेपालमा सबैभन्दा धेरै बिजुली माग भएको थियो। त्यो समयमा १३०५ मेगावाट बिजुली खपत भएको थियो। निर्यातसहितको बिजुली जोड्दा त्यति बेला प्राधिकरणको प्रणालीबाट १६८५ मेगावाट बिजुली आपूर्ति भएको थियो।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठबाट आइएक्समा बिक्री सुरु गरेको थियो।

नेपालमा बढी भएको बिजुली भारतीय बजारमा बेच्न सुरु भएसँगै पहिलो पटक यसपालि प्राधिकरण लक्ष्मीपूजाको साँझ पनि बिजुली भारत पठाएको हो।

नेपाली विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षमा २० अर्ब रुपैयाँ बराबरको बिजुली भारतलाई बेच्ने लक्ष्य रहेको बताएका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.