कास्की, कात्तिक ३ः पोखरा रंगशाला एथलेटिक्स ट्र्याकमा ५ हजार मिटर दौडमा कीर्तिमानसहित स्वर्ण जित्ने लक्ष्य पूरा नभए पनि स्वर्ण जित्दै बुटलाई ढोगिन्, उनले । बाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले चोटसँग जुध्दै नवौं राष्ट्रिय खेलकुदमा आपूmले सहभागिता जनाएको दुवै विधामा स्वर्ण जित्न सफल भएकी हुन् ।
राष्ट्रिय कीर्तिमान लक्ष्यसहित दौडिएकी सन्तोषीले सोचेजस्तो समय निकाल्न नसकेको बताइन् । चोटकै कारण दुखाइबीच दौड छाड्नेसम्म मनस्थिति बनाएकी उनले कीर्तिमानभन्दा दौड पूरा गर्ने निर्णय गरिन् । दौडिन् र स्वर्ण जितिन् ।
‘खेलको सुरुमा एकदम दुखाइ भइरहेको थियो,’ उनले भनिन्, ‘दौडन सक्दिनँ भन्ने लागेको थियो । दौड छाड्नुपरेन, त्यसैले बुटलाई ढोगें ।’ नवौंमा १० हजार मिटर दौडमा पनि स्वर्ण जितेकी सन्तोषीले बुधबार ५ हजार मिटरमा कीर्तिमानी प्रयास गरे पनि खुट्टा र शरीरले साथ नदिएको बताइन् ।
‘तीन ल्याप दौडिएपछि एकछिन त दौडिन नै छाडौंजस्तो भएको थियो । तर, अब रेकर्डभन्दा दौड पूरा गरौं भन्ने लाग्यो । गुरुसँगको सल्लाहमा नै दौडिएको सुनाउँदै उनले थपिन्, ‘खुट्टामा भएको घाउको दुखाइ बढ्दै गएपछि दौड रोक्न मन लागे पनि बिहानै रघुराज वन्त गुरुले मोबाइलमा पठाएको म्यासेजले दौड छाड्न मन लागेन । १० हजारको फलो गर्दै दौडिएको थिएँ । त्यसको अघिल्लो राति सुत्न सकेको थिइनँ । ५ हजार मिटरमा दौडन सक्छुजस्तो लागेको थिएन ।’
१० हजार मिटर दौड जितेपछि आप्mनो सफलता विभागबाहिरका खेलाडीलाई समर्पित गर्दै उनले भनिन्, ‘मेरो स्वर्ण बाग्मती प्रदेश, जो खेल्न चाहेर पनि आर्थिक, शैक्षिक र अन्य कारणले सकेनन् उनीहरू, कर्णाली प्रदेश र सबै पब्लिक अनि जुनियर खेलाडीमा समर्पित गर्न चाहन्छु ।’
२०७६ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)पछि १० हजार मिटर दौडमा स्वर्णधारी सन्तोषीले १० हजारमा स्वर्णकै लागि दौडिएको सम्झिइन् । ‘१० हजारमा रेकर्ड ब्रेक गर्न सक्थें तर केही चोटका कारण चाहिनँ, मन र दिमागले अगाडि जान दबाब दिइरहेको थियो । खुट्टाले दिएन,’ उनले भनिन् ।
सन्तोषीले ५ हजार मिटर दौडमा १७ मिनेट ०५.२९ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । पुलिसकी राजपुरा पछाईले रजत र त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानले कांस्यपदक जितिन् । राजपुराले १७ मिनेट १२.०५ सेकेन्ड र पूर्णलक्ष्मीले १८ मिनेट ०३.०० सेकेन्डमा दौड पूरा गरेकी थिइन् । राजपुराले १० हजार मिटरममा पनि स्वर्णपदक जितेकी थिइन् ।
सोम र फूलमतीलाई स्वर्ण
एथलेटिक्सअन्तर्गत ८ सय मिटर दौडमा त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमाल र एपीएफकी पूmलमती रानाले स्वर्णपदक जितेका छन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्र्याकमा बुधबार पुरुषतर्फ सोमले निर्धारित दूरी १ मिनेट ५४.०८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते । नवौंमा सोमको यो दोस्रो स्वर्ण हो ।
यसअघि सोमले ३२ वर्ष पुरानो कीर्तिमान तोड्दै ४ सय मिटर दौडमा स्वर्ण जितेका थिए । पुलिसका तेजबहादुर कार्कीले रजत र आर्मीकै सुनिल सुनारले कांस्यपदक जिते । कार्कीले १ मिनेट ५५.२१ सेकेन्ड र सुनारले १ मिनेट ५५.५२ सेकेन्ड पूरा गरे ।
महिलातर्फ एपीएफकी पूmलमतीले निर्धारित दूरी २ मिनेट २७.३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । उनको पनि नवौंमा दोस्रो स्वर्ण हो । यसअघि उनले महिला ४ सय मिटरमा स्वर्ण जितेकी थिइन् । आर्मीकी सरस्वती भट्टराईले २ मिनेट २७.५० सेकेन्डमा पूरा गर्दै रजत र आर्मीकै रेखा लिम्बूले २ मिनेट ३०.४८ सेकेन्डमा पूरा गर्दै कांस्यपदक जिते ।
रिलेमा आर्मी र एपीएफलाई स्वर्ण
एथलेटिक्सअन्तर्गत ४ गुणा १ सय मिटर रिले दौडमा आर्मी र एपीएफले स्वर्ण जितेका छन् । आर्मीकी रमिता थारू, सरस्वती चौधरी, जयरानी थारू र निर्मला थापाको टोलीले ४९.६० सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते ।
गण्डकीका मनीषा अधिकारी, अनिशा भण्डारी, सविना खातुन मिया र निशा घर्तीको टोलीले ५२.७५ सेकेन्डमा दूरी पूरा गर्दै रजत पदक जित्यो । बाग्मतीका रजिना दुलाल, स्वागता खाइजू, प्रकृति सुवाल र लुजला अमात्यको टोलीले ५२.७६ ले दूरी पूरा गर्दै कांस्य हात पारे । यस विधामा एपीएफ खेल्नबाट अयोग्य बन्यो ।
स्टाटर हुनुअघि नै दौड सुरु गरेपछि अफिसियले एपीएफको टोलीलाई रातो कार्ड देखाउँदै खेल्न अयोग्य भएको घोषणा गरे । त्यसको फाइदा प्रदेशको टोलीलाई भयो । महिलामा अयोग्य भएर बाहिरिएको एपीएफले पुरुषतर्फ भने स्वर्ण जित्यो ।
एपीएफका निरप्रताप महतो, आशिष चौधरी, शिवराज कार्की र चन्द्रबहादुर पुलामी मगरले ४२.४४ सेकेन्डमा पूरा गर्दै स्वर्णपदक जिते । आर्मीका जीवन चौधरी, विवश थारू, युवराज विक र डिल्ली भण्डारीलाई ४२.६० सेकेन्डमा दूरी पूरा गर्दै रजत पदक जिते । लुम्बिनी प्रदेशका सिमान पाण्डे, सुजल डाँगी, रोशन थारू र तुल्सीराम थारूले ४४.३८ सेकेन्डमा पूरा गर्दै कांस्यपदक जिते ।
चन्द्रकलाको राष्ट्रिय कीर्तिमान
एथलेटिक्सअन्तर्गत महिला ज्याभालन थ्रोमा पुलिसकी चन्द्रकला लामगाँदेले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । यसअघि यो कीर्तिमान आर्मीकी लक्ष्मी थारूको नाममा थियो ।
चन्द्रकलाले बुधबार ४७.६० मिटर थ्रो गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् । चन्द्रकलाले नवौंमा दोस्रो स्वर्ण जितेकी हुन् । यसअघि चन्द्रकलाले सटपुटमा स्वर्ण जितेकी थिइन् ।
लक्ष्मीले सन् २०१९ मा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा ४५.२७ मिटर थ्रो गर्दै कीर्तिमान बनाएकी थिइन् । सोही स्पर्धामा आर्मीकी लक्ष्मी थारूले ४५.५६ मिटर थ्रो गर्दै रजत जितिन् ।
एपीएफकी सीमाकुमारी थारूले ४५.२० सकेन्डमा पूरा गर्दै कांस्य पदक जितिन् । पुरुषतर्फ आर्मीका रोहित चौधरीले ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जिते । एपीएफका रमेश पोखरेल र मनोज डगौराले क्रमशः रजत र कांस्य पदक जिते । पोखरेलले ५५.४३ मिटर र डगौराले ५३.३९ मिटर थ्रो गरे ।
पुरुषतर्फ ४ सय १० मिटर हडल्समा आर्मीका रामप्रसाद थारूले स्वर्ण पदक जितेका छन् । थारूले ४ सय मिटर ५३.५३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जिते । आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेन्डमा पूरा गर्दै रजत पदक जिते । एपीएफका निरप्रताप महतोले ५३.९२ सेकेन्डमा पार गर्दै कांस्यपदक जिते । राजधानी दैनिकबाट