ट्राफिक प्रहरीद्वारा हराएका दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

| 2022 Oct 17 | 05:18 pm 1305

काठमाडाैं, असाेज ३१ः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न
स्थानबाट हराएका २१ ओटा दुई पाङग्रे सवारी साधन फेला पारी साेमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

दुई पाङ्ग्रे सवारी साधन चोरी भएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सवारी धनीले विभिन्न मितिमा दिएको निवेदनका आधारमा खोजतलास गर्दा भेटिएका १५ ओटा मोटरसाइकल र ६ ओटा स्कुटर आज हस्तान्तरण गरिएको हो ।

गत साउन देखि असोज ३० गतेसम्म दुई पाङ्ग्रे सवारी साधन चोरी भएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ४ सय २ ओटा निवेदन प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा चोरी भएका सवारी साधन ट्राफिक प्रहरीले खोजी गर्दा १ सय ५९ ओटा फेला परेका थिए ।

जसमध्ये साउन महिनामा ६८ ओटा र भदौ महिनामा ३८ ओटा सवारी साधन धनीलाई जिम्मा लगाइ सकिएको छ । यस्तै आज सहित असोजमा ३२ ओटा सवारी साधन सम्बन्धित धनीको जिम्मा लगाइएको छ ।

यही असोज महिनामा चोरीको एउटा मोटरसाइकल सहित नियन्त्रणमा आएका एक जनालाई भने आवश्यक कारवाहीको लागि सम्बन्धित वृत्तमा पठाइएको प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.