सेना र प्रहरीले टेरेन कामपालाई

| 2022 Sep 29 | 07:36 am 1185

काठमाडौं, असाेज १३ः नेपाली सेना र नेपाल प्रहरीले काठमाडौं महानगरपालिकालाई कर तिर्न अटेर गरेको छ । भदौ २३ गते घर बहाल कर तिर्न आग्रह गर्दै कामपाले नेपाली सेनाको मुख्यालय र नेपाल प्रहरीलाई पत्राचार गरेको थियो ।

पत्र पठाएको करिब तीन साता पुगिसक्दा पनि दुवै निकायले पत्रको कुनै जवाफ दिएका छैनन् । कामपाका प्रवक्ता नवीन मानन्धरले नियमअनुसार कर तिनुपर्ने बताउँदै कर नतिरे कारबाही गर्ने चेतावनी दिँदै भन्नुभयो– ‘दुवै निकायले कामपाले तोकेको करको वक्यौता तिर्नैपर्छ । हामी फेरि अर्को पत्र पठाउनेछौं । त्यसपछि कानुनअनुसार अघि बढ्नेछौं ।’ दुई सुरक्षा निकायपछि कर तिर्न कुनै पनि जवाफ नदिने सरकारी निकायमा दरशथ रंगशाला, नेपाल कमर्स क्याम्पस, नेसनल ट्रेडिङ लिमिटेड छन् । ती निकायले लामो समयसम्म कर तिरेका छैन ।

कर नतिर्ने सरकारी निकायमा नेपालीसेना, नेपाल प्रहरी, कृषि सामग्री संस्थान, गुठी संस्थाले भाडामा दिएको पुतली सडकको सेयर मार्केट, खाद्य संस्थान, नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजा, राष्ट्रिय नाचघर, नेपाल रेडक्रस सोसाइटी, नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष र नेसनल ट्रेडिङ कम्पनी हुन् ।

यसअघि कामपा राजश्व विभागले भदौ २१ गते १७ निकाय, २३ गते ७ वटा क्यासिनो र २३ गते नेपाली सेना र नेपाल प्रहरीसहित १० निकाय र पछिल्ला दुई साताअघि व्यक्ति र संस्था गरी झण्डै दुई दर्जनलाई पत्राचार गरेको थियो । नेपालको संविधानको अनुसूची ८ ले स्थानीय करअन्तर्गत सम्पत्ति कर, घरवहाल कर, जग्गा रजिस्ट्रेसन र सवारी रजिस्ट्रेसन जस्ता कर संकलन गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.