लिपपोतका लागि माटोको अभाव

| 2022 Sep 27 | 10:51 am 1729

कञ्चनपुर, असाेज ११ः शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका सीता चौधरीलाई घर लिपपोत गर्ने निकै हतारो छ। नदी तलाउबाट ल्याइएको माटोले घर लिपपोत गर्नमा उनी व्यस्त छन्। दशैँका लागि घर चिटिक्क पार्नका लागि लिपपोतमा लागेको उनले बताए। ‘देवी–देवता राख्ने ‘डिहुरार’ देखि पूरै घर लिपपोत गर्नमा लागेको छु’, उनले भने, ‘अरु कार्यका लागि फुर्सद नै छैन, दशैँ आँगनमा आइपुगे छ, घर लिपपोत नगरे पाहुनाले खिसी गर्ने डर छ, त्यही भएर घर लिपपोत गर्न थालेका छौँ।’

परम्परागतरूपमा थारू समुदायमा अरु बेला घर लिपपोत नगरे पनि दशैँका लागि अनिवार्यरूपमा नयाँ माटोले घर लिपपोत गर्नैपर्ने चलन विद्यमान छ। ‘जमरा राख्ने कोठादेखि पूरै घर लिपपोत गर्नुपर्ने पुरानै चलन हो’, स्थानीयवासी मीना चौधरीले भने, ‘यसलाई अहिले पनि जीवन्त राखेका छौँ, नयाँ माटोले घर लिपपोत गर्नु, सफा सुग्घर बनाउने, नयाँ आगोले डिहुरारमा बत्ती बाल्ने चलन पुरानै हो, यो थारू समुदायको संस्कृतिसँग जोडिएकाले बचाउने प्रयासमा छौँ।’

घर लिपपोतका लागि चिम्टाइलो ताल वा नदीको माटो आवश्यक हुने गर्दछ। हाल घर लिपपोतका लागि माटो पाउन मुस्किल छ। ‘घर लिपपोतका लागि माटो पाइने क्षेत्र सामुदायिक वन र निकुञ्जभित्र पर्ने भएकाले अनुमति नलिइकन ल्याउन पाइँदैन’, पार्वती चौधरीले भने, ‘वन रक्षकको आँखा छिचोल्दै माटो ल्याउने गरेका छौँ।’

थारू समुदायका घर टायल वा खपटाको छाना भएका एकनासले बनेका हुन्छन्। एक लहरमै बनेका एकतले घर माटोले लिपपोत गरी चिटिक्क पारिएका हुन्छन्। माटोसँगै गहुँको भुसा, गोबर मिसाएर लिपपोत गर्ने गरिन्छ। घरको पूर्वतर्फको उत्तर दिशामा रहेको कोठामा डिहुरार (देवता राख्ने कोठा) बनाइएको हुन्छ। घर उत्तर–दक्षिण लम्बाइ गरेर बनाइएको हुन्छ। घरको आँगन पूर्वतिर पर्ने गरी राखिन्छ।

पक्की घर निर्माण हुन थालेपछि थारू समुदायका परम्परागत घर हराउँदै जान थालेका छन्। पक्की घर निर्माणले परम्परागत घर हराउँदै गएपछि पुस्तौँदेखि पुस्तान्तरण हुँदै आएको संस्कृतिसमेत ओझेल पर्न थालेको छ। पक्की घरमा बस्दै आएका थारू समुदायका नयाँ पिँढीले परम्परागत घरको महत्व र त्यसको सांस्कृतिक पक्षका बारेमा बिर्सँदै जान थालेकामा थारू बूढापाका चिन्तित छन्।

‘परम्परागत घर बनाउनका लागि सबैभन्दा ठूलो चुनौती काठकै रहेको छ’, थारू अगुवा नरेन्द्रप्रसाद चौधरीले भने, ‘पक्की घरकै कारण टायल र खपटा बनाउने उद्योग बन्द भएको वर्षौँ भयो, घाँस पनि पाउन मुसिकल छ, ताल तलैयाको चिम्टाइलो माटो पाउन झनै अप्ठेरो छ।’

उनका अनुसार बस्ने घर नै  थारू समुदायको पहिचान भए पनि त्यो बदलिँदो परिवेशसँगै ओझेल पर्न थालेको छ। ग्रामीण क्षेत्रका केही गाउँमा परम्परागत घर अझै भए पनि विस्तारै ती घरका ठाउँमा नयाँ आधुनिक पक्की घरले लिन थालेको उनले बताए। पुराना मौलिकता भएका थारू समुदायका घर जोगाउनका लागि स्थानीय सरकारले कार्यक्रम ल्याइ काठ, घाँस, टायल र माटो पाउने कार्यलाई सहजता गर्नुपर्ने उनको भनाइ छ।

घर लिपपोतसँगै थारू महिला दशैँका लागि दुनाटपरी बनाउने र नदी तलाउमा माछा मार्ने काममा समेत जुटेका छन्। हाल तलाउमा पहिलाजस्तो माछा पाइँदैन, त्यही भएर धेरैले बजारबाट माछा ल्याएर दशैँमा काम चलाउने गरेको लक्ष्मी चौधरीले बताए। ‘दुना–टपरी लगाउने कार्य घरका बूढापाका महिलाले गर्दै आएका छन्’, उनले भने, ‘घरका बुहारीलगायत अन्यले नदी तलाउनमा माछा मार्ने र घर लिपपोत गर्ने कार्यमा जुटनुपरेको छ, दशैँ थारू समुदायको ठूलो त्यौहार भएकाले यसलाई निकै धुमधामसँग मनाउने गरेका छौँ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.