‘बुढा, एक्लै नमर्नु है, सँगै मरौंला’

| 2018 Aug 07 | 06:47 am 1480

जाजरकोट, साउन २२: ‘ओइ बुढा एक्लै नमर्नु है, सँगै मरौंला। छोरीहरु कता छन्, म त मर्न लागें, तपाईंलाइ कस्तो छ’, आइतबार बिहान भेरी नगरपालिका–३ ठाँटीबजारस्थित पानीनाउला जाने बाटोको छेउमा पहिरो खसेर पुरिएकी सितला लुहारको अन्तिम क्षणको बोली हो यो। पहिरोले उनीसहित उनका श्रीमान् लालबहादुर लुहार र तीन छोरीलाई पनि पुरेको थियो। पुरिएकै अवस्थामा उनले श्रीमान् लालबहादुरसँग भनेकी थिइन्, ‘यहाँबाट मलाइ निकाल्ने कोसिस गर्नुस् बरु गाउँकै घरमा गइजाउँला।’

उनी एकोहोरो बोलिरहेकी थिइन्, ‘कोही बचाउन आउँछन् कि अलि जोडले कराउनुस् है, ढिला भए मरिन्छ फेरि।’

पहिरोले घर पुरिँदा चेपिएर आधा घन्टासम्म जीवितै भए पनि उद्धारको अभावमा ज्यान गुमाएकी भेरी नगरपालिका ६ गंगटियाकी सितलाले आफू जीवित रहँदासम्म तीन छोरी र श्रीमान्को मात्रै चिन्ता गरिरहेकी थिइन्। सितलाले जति बोले पनि भत्किएको कोठाको कुनामा काठले चेपिएका लालबहादुरले घाइते श्रीमतीको कुरा सुन्नबाहेक केही गर्न सकेनन्। श्रीमतीको पीडायुक्त बोली मिसिएको सुनेर गाउँलेसँग गुहार माग्न धेरै कोसिस गरे उनले तर गाउँलेको कानमा आवाज पुग्न नपाउँदै सितलाले उनकै काखमा प्राण त्यागिसकेकी थिइन्।

१० वर्षअघि प्रेम विवाह गरेका लालबहादुर र सितलाको जोडी आइतबारको पहिरोका कारण सधैंका लागि छुट्यो। भविष्यमा धेरै पढेर स्कुलमा पढाउने जागिर खाने लालबहादुरकी जेठी छोरी भगवती विक र डाक्टर बन्ने रञ्जनाको सपना पनि पहिरोसँगै पुरियो।

पुरिएको एक घन्टापछि उद्धार गरिएका लालबहादुरले आधा घन्टासम्म गुहार मागिरहेकी श्रीमतीलाई बचाउन नसकेकोमा निकै पछुतो लागेको बताए। उनले पहिरोमा आफ्ना पूरै परिवार पुरिनुअघि श्रीमती र छोरीहरुसँग भएको कुरा सम्झँदै भने, ‘हिजो (शनिबार) नै त्यस ठाउँबाट डेरा सार्ने कुरा थियो तर पानी परेर डिस्टप ग-यो।’

उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएका लालबहादुरले घटना हुनुअघि बिहान ७ बजेतिर श्रीमतीसँग भएको कुराकानी सुनाउँदै भने, ‘पानी धेरै पर्न लाग्यो। अब पर बाग्लुङ होटेलनजिकैको घरमा डेरा सार्नुपर्छ अनि एक महिनापछि गाउँमै गएर बस्ने हो। यहाँ धेरै कमाइ होला जस्तो छैन।’ स्कुल जाने दुई छोरी र मजदुरी गर्न जाने श्रीमान्का लागि खाना पकाइरहेकी सितलाले लालबहादुरको कुरामा सहमति जनाउँदै भनेकी थिइन्, ‘हामी चार आमाछोरी गाउँकै घरमा गएर बसौंला तपाईं कतै अलि धेरै कमाइ हुने ठाउँमा जानुहोला।’

तर यो परिवारको योजना केही समयमै खसेको पहिरोले छिन्नभिन्न पारिदियो। पहिरो खसेर घर पुरिनेबित्तिकै तीन छोरीहरुको मृत्यु भइसके पनि सितला र लालबहादुर जीवितै थिए। श्रीमान्कै काखमा ३ वर्षकी छोरी मनिषासँगै पहिरोले चेपिएकी सितलाले आधा घण्टासम्म जीवन र भविष्यका बारेमा लालबहादुरसँग कुरा गरिहेकी थिइन्।

‘छोरीहरु त मरिसके। म पनि मर्छु जस्तो छ। अगाडि नमर्नू, सँगै मरौंला है’, सितलाले भनेको लालबहादुरले सुनाए। १० वर्षअघि प्रेम विवाह गरेका लालबहादुर र सितलाको जोडी आइतबारको पहिरोका कारण सधैंका लागि छुट्यो। भविष्यमा धेरै पढेर स्कुलमा पढाउने जागिर खाने लालबहादुरकी जेठी छोरी भगवती विक र डाक्टर बन्ने रञ्जनाको सपना पनि पहिरोसँगै पुरियो।

पहिरो खस्नु एक घन्टाअघि लालबहादुरकी जेठी छोरीले लालबहादुरसँग भनेकी थिइन्, ‘बुवा, मलाइ धेरै पढाउनुस् है । म भविष्यमा शिक्षक बन्छु।’ दिदीले शिक्षक बन्ने भनेको सुनेर ६ वर्षकी बहिनी रञ्जनाले पनि आफूलाइ डाक्टर बनाउन आग्रह गरेको लालबहादुरले बताए। खाटमा बसेर भगवती र रञ्जना स्कुलको गृहकार्य गर्दै थिए। मनिषा बुवाको काखमा बसेर खाना खाँदै थिइन्। त्यसै बेला पहिरो खस्यो र आमा सितलासहित यी तीन दिदीबहिनीको ज्यान लियो।

लालबहादुर परिवारसहित तीन महिनादेखि सदरमुकाम खलंगाको ठाँटीबजारमा डेरामा बस्दै आएका थिए। १३ वर्षको उमेरदेखि मजदुरी गर्दै आएका लालबहादुरको १० वर्षअघि १५ वर्षीया सितलासँग बिहे भएको थियो। ३१ वर्षीय लालबहादुरको परिवारमा परेको विपतका कारण उनको गाउँ गंगटिया पनि शोकाकूल छ। स्थानीय राजेन्द्र पुनले एकै घरका चारजनाको एकै चिहान हुनेगरी भएको घटनाले गाउँ नै शोकमा डुबेको बताए।

सोही घटनामा दुई भाइ गुमाएकी नलगाड नगरपालिका ३ करुवाकी सरिता नेपालीको घर पनि स्तब्ध छ। दुई वर्षअघि आमाबुवा दुवैको मृत्यु भएपछि टुहुरा भएका पाँच भाइलाइ कष्टसाथ पालिरहेकी सरिता एक भाइको मृत्यु र एक भाइ बेपत्ता भएपछि उनका ८ वर्षीय भाइ दशरथ परियारको निधन भएको छ भने १३ वर्षीय गोविन्द परियार पहिरोमा परी बेपत्ता छन्। ‘मागेर पालेका दुवै भाइलाइ पहिरोले निल्यो’, सरिताले रुँदै भनिन्। सरिताले गोविन्दको पनि आश मारिसकेकी छन्।

सोही पहिरोमा जेठो छोरो गुमाएका कुसे गाउँपालिका ५ नाउलीखेतका प्रेम परियारका परिवार र आफन्त पनि शोकाकूल छन्। ११ वर्षको छोरा नवीन परियारको सोही पहिरोमा परी निधन भएपछि कुसे ६ भार्माका कृष्णबहादुर परियार र ८ वर्षीया छोरी नज्मा परियारको निधन भएपछि पत्रकार तीर्थराज बोहोराको परिवार पनि गहिरो शोकमा डुबेको छ। सो पहिरोले सात बालबालिकासहित आठजनाको ज्यान लिएको छ भने एक बालक बेपत्ता छन्। घटनापछि सदरमुकाम खलंगाका बासिन्दा पनि शोकाकूल छन् । उनीहरु पीडितकहाँ पुगी सान्त्वना दिइरहेका छन्। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.