‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफि प्रदर्शन

| 2022 Sep 26 | 08:12 am 1897

काठमाडौं, असाेज १०ः ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफि सशस्त्र प्रहरी
महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा प्रदर्शन गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा संचालन हुने ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफि सातै प्रदेश तथा तीन विभागीय टीममा प्रदर्शन गरिने योजना अनुरुप आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा प्रदर्शन गरिएको हो ।

कार्यक्रममा महानिरीक्षक अर्यालले रनिङ ट्रफिलाई विजयको प्रतिकको रुपमा लिई नेपाल एपिएफ क्लबबाट सहभागी हुने सम्पूर्ण खेलाडीहरुले उच्च मनोबलका साथ आ–आफ्नो खेलकुद विधामा पूर्ण क्षमता र खेल भावनाको अनुशरण गरी खेल्नुपर्ने बताए ।

गण्डकी प्रदेशको पोखरा लगायत आसपासका जिल्लाहरुमा संचालन हुने उक्त प्रतियोगितामा कुल ३६ खेल विधा समावेश गराई संचालन गरिने कुरा सो अवसरमा जानकारी गराइएको थियो ।

उक्त खेलकुद प्रतियोगितामा नेपाल एपिएफ क्लवको तर्फबाट ३१ खेल विधामा ५३४ जना खेलाडीहरुको सहभागीता रहने छ ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम, रनिङ ट्रफि टुर कार्यदल समितिका संयोजक नेपाल ओलम्पियन संघका अध्यक्ष ओलम्पियन दिपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ, नेपाल महिला भलिबल टिमकी क्याप्टेन अरुणा शाही, अल्ट्रा म्याराथुन धाविका मिरा राई, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, नेपाल एपीएफ क्लबका खेलाडी तथा अफिसियलहरु लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, बिल्लादार तथा जवानहरुको उपस्थिति रहेको थियो ।

१९ किलो चाँदीसहित पक्राउ
धनुषा जिल्लाको नगराईन नगरपालिका २ स्थित जटहीबाट सशस्त्र प्रहरीले करिव १९ लाख ६४ हजार रुपैयाँ बराबरको चाँदीसहित भारतमा घर बताउने ५० बर्षिय चन्द्रकान्त झालाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउदैं गरेका झालाई बिओपी जटहीले शरीरमा बाँधेर लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उल्लेखित मुल्य बराबरको १९ के.जी. ४ सय १७ ग्राम चाँदीसहित पक्राउ गरेको हो ।

पक्राउ परेका झालाई बरामद चाँदीसहित आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा धनुषामा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले बताए  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.