तारिफयोग्य बयालपाटा अस्पताल

रिपोर्ट नेपाल | 2022 Sep 25 | 07:58 am 901

आज पनि नेपालका गाउँबस्तीसम्म त के सहरकै बासिन्दालाई पनि आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच छैन। गाउँबस्ती पनि दुर्गम र सुदूरका जनताले स्वास्थ्य संस्था देख्न मुस्किल छ। भएका स्वास्थ्य संस्थामा चिकित्सक र स्वास्थ्यकर्मी भेट्न कठिन छ। त्यसमाथि झन् विशेषज्ञ सेवा त परकै कुरा हुने भइगयो। यी मामलामा सुदूरपश्चिम प्रदेशको अछाम जिल्लालाई भाग्यमानी मान्नुपर्छ। त्यहाँको बयालपाटामा अस्पतालमा विशिष्टीकृत सेवा पनि छ। अरू ठाउँका नेपालीलाई आरिस लाग्ने कुरा के भने यो अस्पतालमा उपचार गरेको कुनै शुल्क लाग्दैन। हाम्रो संविधानले समाजवादउन्मुख भनेर लेखेको छ।

नेताहरू समाजवाद भनेको स्वास्थ्य र शिक्षामा सहज र निशुल्क पहँुच हो भन्छन्। तर कतै लागू गर्दैनन्। समाजवादका विषयमा नेताहरूको यही परिभाषालाई स्वीकार्ने हो भने बयालपाटाको स्वास्थ्यमा समाजवाद आएको मान्नुपर्छ। अस्पताल सरकारी स्वामित्वमा त्यसरी निःशुल्क सेवा दिने बनेको चाहिँ होइन। अमेरिकामा बस्ने नेपाली र त्यहींका चिकित्सकहरूको पहलमा स्थापित हेल्थ न्याय संस्थाले बयलापाटाको अस्पतालमार्फत स्वास्थ्य सेवामा कायापलट गरेको हो।

बयालपाटा अस्पतालमा हाडजोर्नीका विशेषज्ञ चिकित्सक नै छन्। त्यो पनि क्यान्सरसमेत उपचार गर्न सक्ने चिकित्सक मन्दीप पाठक। उनी र अरू मेडिकल अफिसरको सेवा छ त्यहाँ। सयभन्दा बढी स्वास्थ्यकर्मीको सेवा छ। त्यसैले त अछामका मात्रै नभई अन्तबाट पनि बिरामी पुग्छन्। काठमाडौंमै नभएको हाडजोर्नीको उपचार विशेषज्ञ चिकित्सकले बयालपाटामै गरिदिएको उदाहरण छन्। गएको आर्थिक वर्ष ७ सय ५० वटा हाडजोर्नीको शल्यक्रिया त्यसै त्यहाँ भएको होइन। चिकित्सकको दक्षता र बिरामीमा भएको सफलताको कडी हो, त्यो संख्या। यसै पनि स्थापनाको डेढ दसकमै ८ लाख बिरामीको निःशुल्क उपचार चानचुने कुरा होइन। यो बयालपाटावासी र सुदूरपश्चिमका लागि गौरवको विषय हो, जुन वास्तवमै तारिफयोग्य छ।

अधिकांश नेपालीलाई मुख्य पिरलो भनेकै बिरामी परेर अस्पताल जानै नपरोस् भन्ने हो। एक त गतिलो उपचारै पाइन्न। सरकारी अस्पतालको सेवा न सजिलै पाइन्छ, न सबै ठाउँमा सरकारी अस्पताल छन् न भएका सरकारी अस्पतालमा सबैथरी सेवा पाइन्छ। जानुपर्छ त निजीमै। तर निजी यति महँगा छन् कि सानातिना उपचारमै पनि लाखौं खर्च हुन्छ। ठूलो रोग लाग्यो भने त घरखेतै बेचेर पैसा खर्चनुपर्छ। घरखेत नहुने नेपालीले ज्यानकै आस मार्नुपर्छ। यस्तो सरकारकै उदासीनताका कारण भइरहेको छ। सरकार स्वास्थ्य सेवा सुधार्न कदाचित संवेदनशील छैन। कत्ति पनि गम्भीर छैन। नेताहरू बिरामी हुँदा विदेशको अस्पताल पुग्छन् उपचार गर्न। जनताका छोराछोरीको ज्यान उनीहरूका निम्ति भर्सेला परोस् यो जे होस् कुनै मतलब छैन। बयालपाटा अस्पताल गैरसरकारी संस्थाले निःशुल्क गर्न सम्भव छ भने तर उसले विस्तारै हात झिक्न लाग्दा अब अस्पतालै बिरामी पर्ने चिन्ता पो उब्जियो।

सरकारले सके पूरै स्वास्थ्य सेवा निःशुल्क गर्नुपर्छ। तत्काल सम्भव नभए स्वास्थ्यको बजेट बढाउँदै लैजाने र आधारभूत स्वास्थ्य सेवाको पहुँच सबै नेपालीकहाँ पुर्‍याउनु पर्छ। उपचार सेवालाई निःशुल्क बनाउँदै लैजाने दिशामा सरकार लाग्नुपर्छ। स्वास्थ्य बिमाजस्ता कार्यक्रम ल्याएर केही प्रयत्न गर्न खोजिएको छ, तर बिमा सबैतिर छैन। भएको ठाउँ र सहरहरूमा त्यो प्रभावकारी हुन सकेको छैन। सबै अस्पतालमा बिमाले काम गर्दैन। उल्टै स्वास्थ्य बिमाबाट सरकारले दायित्व मुक्त हुन प्रयत्न गरेको छ। जुन उल्टो बाटो हो। सरकारी स्वास्थ्य बिमा ७७ जिल्लामै लागू हुनुपर्छ र सबै सरकारी तथा निजी अस्पतालमा लागू हुनुपर्छ। सरकारी स्वास्थ्य संस्था तथा अस्पतालको संख्या र तिनको स्तर वृद्धि गरिनुपर्छ। त्यसो भएमात्रै सरकारले बयालपाटा अस्पतालबाट शिक्षा लिएको ठहर्छ। लिनुपर्नेचाहिँ त्यही शिक्षा हो। अन्नपूर्ण पाेस्ट दैनिककाे सम्पादकीयबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.