नेपाली कांग्रेसले आयोगमा बुझायो समानुपातिक बन्दसूची

रिपोर्ट नेपाल | 2022 Sep 19 | 06:26 pm 1461

काठमाडौं, असोज ३ः सत्तारुढ दल नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संविधान दिवसकै दिनमा आयोगले तोकेको समय सीमाभित्र समानुपातिकतर्फको सूची आयोगमा उत्साहपूर्वक दर्ता गरिएको जानकारी दिए ।

बन्दसूची दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “सङ्घमा समानुपातिकतर्फ ११० जनाको र सातै प्रदेशमा, नेपाली कांग्रेसको संसदीय बोर्डको निर्णय र आजै बसेको केन्द्रीय कार्य सम्पादन समितिको निर्णय बमोजिम बुझाएका छौँ । प्रतिस्पर्धामा त गइरहेकै छौँ, यो अवसरलाई उपयोग गरेर आफ्नो अभिमत जोहेर गर्न अपिल गरेका छौँ र कांग्रेसलाई नेपाली जनताले मत दिएर विजयी गराउँदै हुनुहुन्छ भन्नेमा विश्वस्त छौँ ।”

उनले प्रतिस्पर्धामा रहेका दललाई पनि लोकतान्त्रिक संस्कृतिका साथ इमानदारितापूर्वक स्वस्थ प्रतिस्पर्धाका लागि आह्वान गरे ।

“समानुपातिकतर्फको सूची बुझाएका छौँ । २० दिनपछि प्रत्यक्षतर्फको उम्मेदवार तय गर्ने क्रममा छौँ । यससँगै घोषणापत्रमार्फत नेपाली कांग्रेसको नीतिलाई अबको पाँच वर्षभित्र कसरी अगाडि बढाउने भन्ने तय हुनेछ । आज बढो उत्साहपूर्वक दर्ता गरेका छौँ”, उनले देशभरबाट हजारौँ आकांक्षी रहेको र आठ सय जनाको सिफारिस प्राप्त भएकोमा क्लष्टर अनुसार योग्य उम्मेदवारको बन्द सूची तयार गरिएको बताए ।

बन्दसूची पेस गर्न कांग्रेस महामन्त्री शर्मासहित उपसभामुख पुष्पा भुषाललगायतका नेताहरू आयोगमा पुगेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.