काठमाडौं, साउन २१: राजधानीको काँडाघारीबाट आइतबार साँझ एक बालकको अपहरण भएको छ । रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार साँझ आफ्नै कोठा नजिकैबाट अपहरणमा परेका ११ बर्षीय निशान खड्कालाई अपहरणकारीले ४० लाख फिरौती दिएमा छाडीदिने बताएको बुझिएको छ ।
अपहरीत खड्काका बाबु गरिवीका कारण मलेसियामा रोजगारका लागि गएका छन् भने आमाले साधारण खाजा पसल चलाएर गुजारा गर्दै आएकी छन् ।
अपहरण भएको सूचना प्राप्त हुनासाथ प्रहरीले अपहरीत बालकको खोजी तिब्र गतिले गरिरहेको छ । सोमबार बिहान अपहरणकारीले बालकको परिवारसँग फिरौती माग गरेको बुझिएको छ ।
स्थानीय एक स्कुलमा कक्षा ६ मा अध्ययनरत बालकका अपहरणमा संलग्न दुई जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भक्तपुरको सानोठिमीबाट नियन्त्रणमा लिएको छ । अपहरीत बालकको स्थिती भने अझैसम्म अज्ञात रहेको छ ।