विकास र समृद्धिको पहिलो आधार भनेको नै यातायात हो। नेपालमा तराईका समथर भूमिभन्दा पहाडी क्षेत्र बढी छ। त्यसैले यातायातको पूर्वाधार विकास निकै चुनौतीपूर्ण छ। आज पनि मुलुकका केही पालिकासम्म मोटरबाटोसम्म पुग्न सकेको छैन। डाँडाकाँडा र भिरपखेरा छिचोल्दै बनाएका सडक जोखिमपूर्ण छन्। दुर्घटना भइरहन्छन्। यातायातको भरपर्दाे उपायको खोजी गाउँगाउँका नेपालीले गरिरहन्छन्। त्यसैले हरेकजसो जिल्लामा विमानस्थल निर्माणको माग भइरहेको छ। बनिरहेको छ। तर, आवश्यकता कति हो ? किन र कसरी सम्भव ? यसको खोजी कम भएको देखिन्छ। जनताले भने भनेपछि नेताले विमानस्थलको एजेन्डा बनाउँछन्। त्यसरी धेरै जिल्लामा विमानस्थल बनेका छन्। कर्त बन्ने योजना छ।
जहाज आफैंमा महँगो साधन हो। जो कोही नेपालीले यसको यात्रा गर्न सक्दैनन्। त्यसमाथि विमानस्थल निर्माण पनि खर्चिलो हुन्छ नै। त्यसभन्दा बढी चुनौतीचाहिँ निरन्तर विमानस्थल सञ्चालन पनि हो। अहिले नेपालमा जति पनि विमानस्थल छन्, धेरैको आम्दानी छैन। घाटामा चलेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत मुलुकभर ५४ विमानस्थल छन्। तीमध्ये ३४ वटा सञ्चालनमा छन्। १५ विमानस्थल घाटामा र २० वटा बन्द छन्। सञ्चालनमा रहेकाहरूको पनि आम्दानीभन्दा खर्च बढी छ। ‘आम्दानी १ आना, खर्च रुपैयाँ’ को हालतमा छन्। घाटा छ भनेर जहाज उडाउने ठाउँ नबनाउनु पनि राज्यको दायित्व बाहिर हुन्छ र पनि बनेका छन् थुप्रै विमानस्थल। चिन्ताचाहिँ जबरजस्ती विमानस्थल थपिरहने कि वैकल्पिक माध्यमहरूतिर पनि ध्यान दिने भन्ने नै हो।
प्राधिकरणको तथ्यांकअनुसार जुम्ला, तुम्लिङटार, बझाङ, भोजपुर, दाङ, डोल्पा, खानीडाँडा, फाप्लु, रामेछाप, रुम्जाटार, ताप्लेजुङ, थामखर्क, डोटी, बैतडी र इलामका एयरपोर्ट घाटामा छन्। बागलुङ, दार्चुला, ढोरपाटन, डोल्पा मसिनेचौर, जिरी, कन्लेडाँडा, लाङटाङ, मनाङ, मेघौली, महेन्द्रनगर, पालुङटार, रोल्पा, स्याङ्बोचे, टीकापुर, गुल्मी, इलाम (सुकिलुम्बा), खिजी चण्डेश्वरी, कालीकोट र कमलबजार एयरपोर्ट भने बन्द छन्। आवश्यक यात्रुको अभावमा ती विमानस्थलमा जहाज जाँदैनन्। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वर्षमा ५ अर्ब जस्तो नाफा कमाउँछ। विमानस्थल शुल्क, ल्यान्डिङ पार्किङ, नेभिगेसन, भाडाबाट विमानस्थलाई पैसा आउँछ। अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा बनेर सञ्चालनमा आइसक्यो, तर त्यहाँ जहाज कमै आउँछन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिँदैछ, आउँदो पुसदेखि सुरु गरिने भनिएको छ। तर न भैरहवा विमानस्थलको बिजनेस प्लान छ, न पोखराको। मतलब जनताले चाहना गरे, नेताले योजना पारे, ऋण खोजेरै पनि विमानस्थल बने।
जनताको मनोगत भावना र नेताका सनकहरूबाट नेपालमा ठूलाठूला परियोजना निर्माण भइरहेका छन् भन्ने कुराका विमानस्थल निर्माणको उदाहरणले बुझाउँछ। आन्तरिक विमानस्थल सञ्चालन गर्न दैनिक कम्तीमा २० उडान जरुरी हुन्छ भनिन्छ। भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा ३ दिनमात्रै एउटा जहाज आउँछ। पोखरामा कुन आउने ? कति आउने यकिन छैन। भारतले गोरखपुरतिरको आकाशे बाटोको अनुमति दिएको छैन। भैरहवा र पोखरा जहाज पुग्न फन्को मार्नुपर्छ। यसले वायुसेवा कम्पनीलाई महँगो पर्न जान्छ। त्यो महँगाई पर्ने भनेको यात्रुलाई पनि हो। विमानस्थल सञ्चालन खर्चको भार राज्यलाई पर्छ। राज्यलाई भार पर्नु पनि जनताकै थाप्लामा भारी बढ्नु हो। एउटा विमानस्थलदेखि अर्काेको दूरीको जुन मापदण्ड छ, त्यो पनि पालना नगरी ठावैपिच्छे विमानस्थल निर्माणको भावनात्मक योजना बढ्दै गए विमानस्थल राज्य र जनताका निम्ति भार बन्छन्। बेलामा सचेत हुन जरुरी छ। आवश्यकता र सम्भाव्यताका आधारमा मात्रै पूर्वाधारमा खर्च गरिनुपर्छ। नत्र त्यो लगानी खेर जान्छ। अन्नपूर्ण पाेस्ट दैनिककाे सम्पादकीयबाट