काठमाडौं,साउन २०: अविरल परेको बर्षाले तुलसीपुर–घोराही सडकखण्डको ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा १२ जना यात्रु घाइते भएका छन् ।
धनगडीबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको ना४ख ८१३६ नम्बरको यात्रुबाहक बस आज साझ ग्वार खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
घाइतेहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घाइतेहरुमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएका छन् । लगातारको वर्षापछि स्थानीय खोलामा आएको बाढीले तुलसीपुर–लमही सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तुलसीपुर–लमही सडकखण्डको बबई, कटुवा खोला, सेवार, गुर्जे, ग्वारखोलालगायका खोलामा आएको बाढीले आज दिउँसोदेखि यातायात अवरुद्ध बनाएको छ । साना सवारी साधन सबै ठप्प भएका छन् भने ठूला सवारी साधन फाटफुट सञ्चालन भएका छन् । खोलामा ठूला सवारी साधन जोखीम मोलेर भए पनि पार गरेका छन् साना सवारी साधनहरु भने सञ्चालन हुन सकेका छैन।