पर्यटकीय क्षेत्र ठमेल : पानी पर्दा हिलो, घाम लाग्दा धूलो

| 2018 Aug 05 | 06:05 pm 2011

काठमाडौँ, साउन  २० :  सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’मनाउने घोषणा गरिरहेको बेला मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल भने पानी पर्दा हिलो तथा घाम लाग्दा धूलोका कारण समस्यामा छ ।

ठमेलका प्रमुख चोक तथा गल्लीमा ढल र मेलम्ची खानेपानी आयोजनाको लागि खनिएका खाल्डा नपूर्दा उक्त समस्या उत्पन्न भएको हो । समस्या समाधानका लागि स्थानीयवासीले पटक÷पटक सम्बन्धित निकायलाई आग्रह गरे पनि सुनुवाइ भएको छैन । पानी पर्दा हिलो र घाम लाग्दा धूलो उड्ने समस्याका कारण स्थानीयवासीसँगै नेपाल भ्रमणमा आएका पर्यटक नराम्रोसँग प्रभावित हुने गरेका छन् ।

गतवर्ष सडकमर्मत नभएको भन्दै ठमेलमा स्थानीय व्यवसायीले सडकमा नै धान रोपेर प्रतिकात्मक विरोध गरेका थिए । ठमेलको रौनक हराउँदै गएकोमा स्थानीय व्यापारी चिन्तित छन् । सरकारले ठमेल क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाएको कारण मझौला तथा साना सवारीसाधन नचल्दा केही सहज भए पनि हिलो र धूलोका कारण पैदलयात्रुले सहज रुपमा यात्रा गर्न पाएका छैनन् ।

सडक खन्ने र नपूर्ने प्रवृत्तिका कारण व्यापार व्यवसाय घटेको स्थानीय व्यापारीले गुनासो गरेका छन् । स्थानीय निकायको निर्वाचनपछि ठमेल क्षेत्रले जनप्रतिनिधि पाए पनि आफूहरुको समस्या समाधानमा चासो नदिएकोमा उनीहरुले चिन्ता व्यक्त गरेका छन् । पर्यटकीय क्षेत्रको महत्व र गरिमालाई कायम राख्न तत्काल सडक कालोपत्र गर्न उनीहरुले माग गरेका छन् । वर्षात्का कारण ठमेल क्षेत्रको सडक मर्मत र कालोपत्र गर्न समस्या भएको जानकारी दिँदै स्थानीय जनप्रतिनिधिले केही दिनभित्रैमा समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । जनप्रतिनिधिको भनाइ विश्वसनीय नभएको भन्दै स्थानीय व्यवसायीले भने तत्काल विश्वास गरिहाल्ने अवस्था नरहेको टिप्पणी गरेका छन् ।

“पर्यटकले निकै सास्ती पाएका छन्, व्यापार व्यवसाय घटेको छ, राजधानीकै मुटुमा यस्तो समस्या छ भने अन्यन्त्र कस्तो होला ?” ठमेलका व्यवसायी किरणदेव घिमिरे भन्नुहुन्छ ।

यस्तै समाजसेवी विश्वम्भरलाल प्रधान राज्यको ठमेललाई हेर्ने दृष्टिकोण ठिक नभएका कारण यहाँका व्यवसायीले दुःख पाएको बताउछन् । “ठमेलले नेपालको आर्थिक विकासमा ठूलो भूमिका खेलेको छ, तर यसको विकासका लागि राज्यले केही गर्न सकेको छैन,” उनले भने, “विश्वमा नेपाललाई चिनाएको ठमेल अहिले समस्याले जकडिएको छ ।”

अहिले ठमेलको क्वाबहालदेखि नर्सिङचोक, अमृत क्याम्पसदेखि ज्याठा मार्ग, सञ्चयकोष भवन अगाडि सडक कालोपत्र नहुँदा तथा सडकमा पानी जम्दा स्वदेशी तथा बाह्य पर्यटकका साथै स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ । फ्रान्सबाट नेपाल घुम्न आउनुभएका जेराल्ड राजधानीकै बीच भागमा रहेको ठमेलको अवस्था कल्पना नै गर्न नसकिने भएको गुनासो गरे ।

अमृतमार्ग अगाडि ‘ब्यास ट्राभल्स एण्ड टुर्स’ सञ्चालन गर्दै आएका दीपक भट्टराई ठमेल क्षेत्रमा जथाभावी खनिएका बाटोका कारण मुलुकको पर्यटन विकासमा ठूलो असर पुगेको बताए ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङ मेलम्ची खानेपानी आयोजनाको पाइप ओछ्याउँदा खनिएका सडक मर्मत नहुँदा ठमेलका गल्लीमा खाल्डो पर्नुका साथै पानी जमेको बताए । “समग्र ठमेल क्षेत्र राम्रो छ, केही गल्ली मर्मत नहुँदा हिलोनै हिलो छ, यसको मर्मत चाँडै हुन्छ,”–उनले भने ।

ठमेल क्षेत्र काठमाडौँ महानगरपालिका–१६ र २६ मा पर्छ । कामनपा –२६ का अध्यक्ष ख्यामराज तिवारी बाटो विस्तार र पानीका कारण ठमेल क्षेत्रमा खाल्डाखुल्डी परेको स्वीकारे । “पानी परेका कारण सडक मर्मत तथा कालोपत्र गर्न केही ढिलाइ भएको छ, पानी कम हुने वित्तिकै हामी पुनःनिर्माणको काम शुरु गछौँ,”उनले भने । अमृतमार्गदेखि सञ्चयकोषसम्मको बाटो विस्तार र कालोपत्र गर्नलाई महानगरपालिकाले रु एक करोड ९ लाख बजेट विनियोजन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.