भदौ दोस्रो साता झापामा बिजी धानको रोपाइँ चल्दै

रिपोर्ट नेपाल | 2022 Sep 01 | 05:09 pm 1525

झापा, भदौ १६ः झापाको कमल गाउँपालिकामा भदौको दोस्रो सातामा नयाँ अभ्यासको रूपमा धानको बिउँ उत्पादनका लागि बिजी धानको रोपाइ सुरु भएको छ । क्यारिटास नेपालको सहकार्यमा सो गाउँपालिकाको वडा २ मा सामूहिक रूपमा धान लगाइएको कृषि प्राविधिक समेत रहनु भएका स्थानीय टंक कट्टेलले बताए ।

आदिवासी सिमान्ताकृत समुदायलाई सहभागी गराएर बनाइएको सन्थाल उत्थान आइपीएम कृषक समूहमार्फत सो प्रयोगात्मक रूपमा ढिला धान लगाइएको उनले जानकारी दिए । “खेत बाँझो देखेपछि सोधखोज गरेर नयाँ प्रयोगको रूपमा धान रोप्ने काम भएको हो” कट्टेलले भने ।

यस धानको बिउँ जेठ तथा असार महिनामा बिउँ राखेर असार तथा साउन महिना रोप्ने र माघ तथा फागुनमा राखेर चैत, वैशाखमा रोपिने गरिन्थ्यो उनले बताए । यो धान अब कात्तिक महिनामा काट्न सकिनेछ । किसानले धान काटेर बेमौसमी तरकारी समेत खेतमा लगाउन सक्ने भएकाले प्रभावकारी बन्न सक्ने उनको भनाइ छ ।

अहिले साउन महिनामा बिउँ राखेर भदौ महिनामा रोपिएको र सफल भएमा यो जातको धान तीन बालीसम्म लगाउन सकिने पनि कट्टेलले बताए । “सफल भयो भने हामी सहजै तीन बालीसम्म धान फलाउन सक्छौँ” उनले भने । केही समय यता झापामा तीन बाली धान लगाउने क्रम बढ्दै गएको छ ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार जिल्लामा ९९ प्रतिशत धान रोपाइ भएको छ । ८७ हजार ५०० हेक्टरमा धान खेती हुँदैआएकोमा यो वर्ष ८६ हजार ६ सय २५ हेक्टरमा धान रोपाइ भएको छ । उनका अनुसार पछिल्लो समय जिल्लामा दुईदेखि तीन बाली धान लगाउने क्रम बढ्दो क्रममा रहेको छ । गाेरखापत्र साभार

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.