घाम नलाग्दा सञ्चालनमा आएन कलंकीको ‘अण्डरपास’

| 2018 Aug 05 | 04:28 pm 1351

काठमाडौँ, साउन २० :  पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ सञ्चालनमा ल्याइने भनी तोकिएको समय दुई पटक सरेको छ ।

सडक विभाग, चक्रपथ सुधार आयोजनाले असार दोस्रो सातामै ‘अण्डरपास’ सञ्चालनमा ल्याइने कुरा सार्वजनिक गरेको थियो । पहिलो म्यादमा काम पूरा नभएपछि दोस्रो पटक साउन पहिलो सातामै सञ्चालनमा आउने भनियो तर अझै सञ्चालन हुन सकेको छैन ।

‘अण्डरपास’ शुरु नहुँदा यात्रुले घण्टौँ जाममा बस्नुपर्ने बाध्यता छ । पछिल्लो पटक नियमित वर्षा भइरहेकाले दुई दिन घाममा गर्नुपर्ने काम नसकिँदा सञ्चालनमा ल्याउन नसकिएको आयोजना प्रमुख प्रकाश भण्डारीले जानकारी दिए । उनले भने “दुई दिन मात्र घाम लागे अलकत्रा हालेर त्यसमाथि केही गिट्टी छरेर ‘अण्डरपास’ सञ्चालनमा आउने थियो, मौसम बदली भइरहेकाले दुई दिनको काम रोकिएकाले सञ्चालनमा ल्याउन सकिएन” ।

चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत अण्डरपास निर्माण भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.