काठमाडौँ, साउन २० : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस स्याङ्जाका सभापति तथा पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत नेता पङ्गेनीको असामयिक निधनबाट काँग्रेस पार्टी तथा नेपालको लोकतान्त्रिक आन्दोलनको अभियानमा नै अपूरणीय क्षति पुगेको बताएका छन् । उनको आज बिहान ५ः३० बजे स्याङ्जामा हृदयाघातबाट निधन भएको हो । पूर्वप्रधानमन्त्री देउवाले श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
पङ्गेनीको अन्त्येष्टि आजै गरिने पार्टी कार्यालयले जनाएको छ । काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार अन्त्येष्टिमा सहभागी हुन सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललगायत नेता आजै स्याङ्जा प्रस्थान गर्नेछन् ।