काठमाडौं, भदाै १२ः नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर नेकपा एमाले चुनावमा जानेभएको छ । पार्टीको शनिबार सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको हो ।
पार्टी उपमहासचिव तथा केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा आसन्न निर्वाचनमा पार्टीलाई बहुमतसहितको पहिलो शक्तिका रूपमा विजयी बनाउनका लागि आ–आफ्नो कार्यक्षेत्रमा सक्रियतापूर्वक अहोरात्र खट्न हाम्रो पार्टीका सबै कमिटीहरू, नेता, कार्यकर्ता र जनसंगठनहरूलाई आह्वान गरिएको छ ।
स्थानीय तह निर्वाचनमा जस्तै संविधानले किटानी व्यवस्था गरेको प्रदेशसभा र प्रतिनिधिसभाको आवधिक निर्वाचनलाई पनि समयमै नगर्नका लागि सत्तारुढ गठबन्धनले अनेक बहनाबाजी गरेको भन्दै एमालेले आपत्ति जनाएको छ । निर्वाचनको घोषणा भइसकेपछि कामचलाउ सरकारको रूपमा रहेको सरकारले गरेका पछिल्ला कामकारबाहीको पनि एमालेले विरोध गरेको छ ।
निर्वाचनको घोषणा भइसकेपछि त्यसलाई प्रभावित पार्नका लागि राज्यशक्तिको दुरूपयोग गर्न सरकार सक्रिय रहेको एमालेको आरोप छ । ‘समूह छलफलबाट आएको सुझावअनुसार बैठकबाट ओलीलाई प्रधानमन्त्रीको रूपमा अघि सारिएको हो’ –केन्द्रीय समितिको बैठकपछि एमाले नेता किरण गुरुङले भने । एमाले नेता शेरबहादुर तामाङले बैठकले आगामी दिनमा पार्टीलाई एकताबद्ध बनाएर लाने निर्णय गरेको जनाए । उनले आगामी निर्वाचनमा पार्टीको पक्षमा मतदान गर्न बैठकले आग्रह गरेको पनि जनाए ।
उनले एमाले चुनावी अभियानमा अघि बढिसकेकाले अब एमालेको शक्तिलाई कसैले रोक्न नसक्ने दाबी पनि गरे । पार्टी कार्यालय ललितपुरको च्यासलमा दुई दिनसम्म चलेको बैठकले उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ ।
नेकपा एमाले समानुपातिक निर्वाचन पद्धतितर्फ एकपटक अवसर पाएकाहरूलाई नदोहोर्याउने नीति लिएको छ । पार्टीले २२ भदौभित्र उम्मेदवार सिफारिस गरिसक्न पार्टीका तल्ला कमिटीहरूलाई निर्देशन दिएको छ । एमालेले पार्टीको नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशिता र निर्वाचन कानुनबमोजिमको योग्यतालाई छनोट मापदण्ड बनाएको छ । एमाले केन्द्रीय सदस्य रविन कोइरालाले बैठक उपलब्धिमूलक भएको बताए । नेपाल समाचारपत्रबाट